विमल खड्काकाठमाडौं । अत्यधिक हिमपातका कारण ढोरपाटन सिकार आरक्षमा दुर्लभ वन्यजन्तु मर्न थालेका छन् । लगातारको हिमपात र चिसोको कारण नेपालमा पाइने दुर्लभ बँदेल, रतुवा मृग, चितुवा, नाउर, घोरल, झारल, डाँफे मर्न थालेको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ ।
आरक्षका अनुसार अहिलेसम्म ५ वटा रतुवा मृगसहित एक चरी बाध र सयाैँको संख्यामा चराचुरुङ्गी मरेका छन् । अत्यधिक चिसो बासस्थान र आहाराको कमीले दैैनिक रुपमा दुर्लभ वन्यजन्तु मर्ने गरेका हुन् ।
‘चिसो मौसममा कर्मचारी बाहिर जानसक्ने अवस्था छैन’, ढाेरपाटन सिकार आरक्ष कार्यालय प्रमुख सरस्वती सापकोटाले भन्नुभयो, ‘आरक्षको आसपासमा मरेका वन्यजन्तु फेला परेका छन् । चिसोले माथिल्लो भागमा जान सक्ने अवस्था पनि छैन । एयरपोर्ट आसपासमै आएर मर्नेको संख्यालाई आधार मान्ने हो भने पनि सयाैँ संख्यामा वन्यजन्तु मरेका छन् ।'
सापकोटा अनुसार बासस्थान र अाहार खाेजी गर्दै बस्ती नजिक अाउने वन्यजन्तु लाेकल कुकुरकाे सिकारमा पर्ने गरेका छन् ।
मरेका वन्यजन्तुहरुको मुचुल्का तयार गरेर गाड्ने काम गरिएकाे आरक्ष कार्यालयले जनाएको छ । अाज पनि ढाेरपाटन अासपास हिमपात भएको छ ।
१३ सय २५ वर्ग किलोमिटरमा फैलिएको सिकार आरक्षमा ५५ देखि ६० प्रजातिका जीवजन्तु रहेका छन् । त्यहाँ वर्षेनी सिकार खेल्न राज्यलाई करोडौं रकम कर तिरेर विभिन्न देशका नागरिक आउने गर्दछन् ।