पुष्पराज अधिकारीहेटौंडा । मकवानपुर देशमै पहिलो पहिलो सडक मानव मुक्त जिल्ला घोषणा भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको पहलमा उक्त घोषणा गरिएको हो । मकवानपुरलाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज एक कार्यक्रमबीच सहयोगापेक्षी सडक मानव मुक्त जिल्ला घोषणा गर्नुभएको हो । सडकमा कष्टकर जीवन बिताइरहेका मानवहरुको उद्धार र पुर्नस्थापनापछि मकवानपुरलाई मानव मुक्त जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै स्थानीय सरकार एवं नीजि तथा विभिन्न संघसंस्था सरोकारवाला निकायहरुलाई सडकमानवरहित जिल्ला मकवानपुर कायम राख्न प्रतिवद्धता गराइएको छ ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले सडकमा कष्टकर जीवन बिताइरहेकाहरुले राम्रो जीवन नपाएसम्म सडक चिल्लो र ठुलो भवन बनेर मात्र नहुने बताउनुभयो । जबसम्म सबै मानिहरु समान हैसियले समाजमा बाच्न पाउने हुँदैनन् तबसम्म सरकारले लिएको समृद्ध नेपाल सुखी नेपाली अभियान सफल नहुने भन्दै सबैपक्षहरु मिलेर अघि बढ्न आग्रह गर्नुभयो । यसैगरी कार्यक्रममा सामाजिक विकास मन्त्री युवराज दुलालले सरकारले नीति तथा कार्यक्रममा प्रदेशलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश बनाउने उल्लेख गरेअनुसार देशमै पहिलोपटक मकवानपुरलाई सडक मानबमुक्त जिल्ला घोषणा गर्न सफल भएको बताउनुभयो । ३ नम्बर प्रदेशलाई नै सहयोगापेक्षी सडक मानवमुक्त बनाउने प्रदेश सरकारको योजना रहेको भन्दै उहाँले पाँच वर्ष्भित्र सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिने बताउनुभयो ।
२०६९ भाद्र १३ गते मकवानपुरको हेटौंडाबाट सहयोगापेक्षी सडक मानवको उद्धार सुरु गरेको मानव सेवा आश्रमले बि.सं. २०८२ भित्र देशलाई नै सडक मानव मुक्त घोषणा गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । मकवानपुर सहित १२ जिल्लाको १४ स्थानमा सेवा सञ्चालन गरिरहेको मानवसेवा आश्रमले हालसम्म मकवानपुर जिल्लाबाट मात्र ७ बर्षको विचमा ५५० बढी सहयोगापेक्षी सडकमानवहरुको उद्धार गरि सेवा गरिसकेको छ । घोषणा पश्चात् यसको प्रभावकारी कार्यान्वयनको लागि मानवसेवा आश्रमको हेटौंडामा बन्दै गरेको भवन निर्माणलाई सम्पन्न गरी गृहप्रवेशका लागि आवश्यक सामाग्री जुटाउन तथा संसथाको केन्द्रीय अक्षयकोष स्थापना गर्न फागुन १२ गतेदेखी २० गतेसम्म भवननिर्माण परिषरमा मानवता प्रवद्र्धन ज्ञान विज्ञान अनुष्ठान लगाउन लगिएको आश्रमले जनाएको छ ।
कार्यक्रममा ३ नं प्रदेशका आन्तरिक मामिला एवं कानूनमन्त्री शालिकराम जम्मरकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, प्रदेश सांसदहरु इन्द्र बानियाँ, मुनु सिग्देल, कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, मकवानपुरका सबै स्थानीय तहका प्रमुख, जिल्लाका समाजसेवी, उद्योगी, व्यवसायी तथा जिल्लाबासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । भुटनदेवी स्कुल परिसारमा जम्मा भई प्रर्दशन सहित पल्पसा हलमा पुगेर घोषणा सभा आयोजना गरिएको थियो ।