निरूपा प्रसूनत्यतिबेला म १४ बर्षकी थिएँ । घरकी कान्छी छोरी भएकैले हुनु पर्छ अल्छि स्वभाव स्वतस्फुर्त रुपमा हाबी थियो ममा । एकदिन ठुलो दाइले काम अह्राउनुभयो मैले माँनिन् दाइले पिट्नुभयो । म रुँदैरुँदै मर्न गए रापति । हाम्रो घरबाट नजिकै पर्छ चितवन राष्ट्रिय निकुञ्जसँगैको रापति नदी । हो म मर्न गएकी थिएँ तर नदिको डिलमा बसिरहे विरक्त उदासीका साथ । हजार कुरा आए गए मनमा नानाभाँतिका असाध्यै आफूलाई दुखि एक्ली कसैले माया नगर्ने संझे । कोही आँउदैन त न मर भनेर फकाउन ? झन बरबर आँशु खसाउदै डिलमै बसिरहेँ राप्तिको निलो पानी हेर्दै । अहँ हाम्फाल्न सकिनँ । साँझ पर्यो । बल्ल पो गाँउका सबै केटाकेटीहरु र आइमाईहरुलाई पछि लगाएर आमा आउनुभयो मलाई खोज्न त्यसपछि मलाई तत्काल मरिहाल्दिउँ लाग्यो, मर्नको लागि पानीमा राखेँ खुट्टा, पानीमा खुट्टा राख्नु र आमा मेरो सामुन्ने आइपुग्नु सँगै भयो ।
म मर्नकै लागि भनेर निस्किए पनि त्यो आत्महत्याको प्रयास थिएन घुर्की थियो आत्महत्यानै गर्नु थियो भने सरासर गएर नदीमा डुब्थे हुँला र आज यो पंक्तिहरु लेखिरहेकी हुने थिईनँ शायद ।
मान्छेको मनोविज्ञान र अनुभूतिको भित्री तरेलीमा बसेको अनुभवजन्य बिज उसको जीवनको बाँच्ने आधार हुन सक्छ । यो बिज कहिलेकाँही अवचेतन मनमा गढेर बसेको हुन्छ त्यसैमा बिचलन आँउदा आत्महत्या जस्तो जघन्य अपराध गर्न पुग्छन् । अवचेतन मनको उपज हो भन्न सकिन्छ आत्महत्या ।
संसारको यावत कुराहरुले व्यक्तिलाई प्रभाव पार्छ । आत्महत्यालाई व्यक्तिको मनोविज्ञानले असर पार्छ भन्ने तर्क बलियो लाग्छ मलाई भने ।जापान गएका नेपाली युवाहरु महिनाको एक जना जसोले आत्महत्या गर्छन भन्ने कुरा जापानमै स्थायीरुपमा बस्ने एक दाइको कुराले अचम्मित साथै दुखि पनि भएकी थिएँ म । जीन्दगीलाई सजिलो बनाउला परिवारलाई सुख दिउला भनेर नै एउटा सपना बोकेर आफू जन्मेको धर्ती छाडेर पराई धर्तीमा पुगेका हुन्छन् एउटा अदम्य साहसको साथ फेरि तिनै साहसी व्यक्तिहरु आत्महत्या गर्नु पर्ने त्यस्तो के समस्या होला ? बिदेशमा मात्र होइन नेपालभित्रै पनि आत्महत्या बढिरहेको अबस्था छ । दशैंतिरको कुरा हो, चितवनको कालिका नगरपालिका ७ बस्ने २७ बर्षको निश्चल तामाङ जस्ले फेसबुक मेसेन्जरमा लाईभ आफू मर्दैछु भनेर आफ्नै घरमा डोरीले झुण्डिएर आत्महत्या गर्यो । भर्खरैको समाचार हो १३ बर्षकी बालिका, आमाले गाली गरेको निहुँमा आत्महत्या गरी । लाग्छ संसारमा आत्महत्याको प्रतिसप्रथा नै चलिरहेको छ । मानिलिउँ मर्ने कुरा त ख्यालख्याल हो केटाकेटीको खेलजस्तो पनि हो कि जस्तो, कति सजिलै आफूले आफैलाई मार्न अग्रसर हुन्छन् ।
वर्तमान समयमा हरेकदिन जसोे आत्माहत्या गरेको सुन्छौं देख्छौं साथै पत्रपत्रिकामा अनलाईन खबरहरुमा पढ्न बाध्य हुनुपर्छ । किन यसरी आत्माहत्याको संख्या बढिरहेको हो यो यकिन गरेर कसैले पनि भन्ने स्थिति भने छैन । मनोरोग चिकित्सक डा. ऋषभ कोइराला भन्छन् – ‘आत्महत्याको मूख्य कारण मानसिक राेग हाे । त्यसमा पनि ‘डिप्रेशन’ सबैभन्दा प्रमुख कारण हो । मानसिक रोग बाहेक कहिलेकाहीँ मान्छे आवेगमा आएर पनि आत्महत्या गर्छन् । यो समुहको मान्छेमा ‘पर्सन्यालिटी डिसअर्डर’ हुने सम्भावना धेरै छ ।’
सामान्यतय आत्महत्या गर्नेहरुप्रति आम मान्छेको धारणा सकारात्मक हुँदैन नकारात्मक टिका–टिप्पणी सुनिन्छ , विचरा भन्ने दया मायाको शब्द कमै सुनिन्छ । आत्मबल नभएको , हुतिहारा संसारदेखि निराश भएर आदि इत्यादि नै भनेर गाली गर्छन । मान्छेको निजि कुरा, व्यक्तिको भावानात्मक कुरा अनि व्यक्तिले समाजलाई हेर्ने दृष्टिकोण फरक फरक हुने भएरै व्यक्ति पिच्छे अलग छ यो संसार र यस संसारका कुराहरु । आफु अनुकूल परिवार, समाज, समय र परिस्थिति यावतकुराहरु नभएझैँ लाग्ने भएरै शायद मान्छे बाँच्नुलाई निरर्थक मान्छ र आफुले आफैलाई अन्त्य गर्नपट्टि लाग्ने होला शायद । दुःख पीडा आर्थिक अभावदेखि समाजिक यावत तत्व हुन सक्छन् आत्महत्यालाई प्रेरित गर्ने तत्वहरु । राजनैतिक, सामाजिक, आर्थिक र सांस्कृतिक कारणहरु प्रमुख हुन् आत्महत्या गर्न प्रेरित पार्ने तत्व । विभिन्न किसिमको मनेविज्ञान, समस्या, डर अनि चुनौतिसँग जुध्न नसकेर भाग्नु नै हो आत्महत्या गर्नु भनेको । हुन त कारण अनगिन्ती हुन सक्छन् । बहुआयामिक कारण मध्ये शारिरीक र मांनसिक कारण पनि अर्को कारण हो । त्यसो त महिला को तुलनामा पुरुष बढि आत्महत्या गर्छन भन्ने तथ्यांकले पनि देखाउछ ।नेपाल प्रहरी केन्द्रिय अपराध अनुसन्धान विभागका अनुशार नेपालमा आत्माहत्या गर्नेको तथ्याङ्क निम्म अनुसार रहेको छ –
आर्थिक वर्ष २०७२/७३ पुरुष २४५८ महिला २०६३ आर्थिक वर्ष २०७३/७४ पुरुष २६५३ महिला २१७४ आर्थिक वर्ष २०७४/७५ पुरुष २८५४ महिला २२४२
यस तथ्याङ्ग अनुसार महिलाको तुलनामा पुरुषको आत्महत्या सख्या धेरै रहेको देखाँउदछ । यस्तो हुनुको कारण महिलाहरुको तुलनामा पुरुषहरु आफ्नो दुःख सेयर गर्दा आफू सानो भइने जस्तो अनि केटामान्छे भएर रुनु हुन्न भन्ने पनि एउटा कारण हुनसक्छ । त्यसो त हाम्रो सामाजिक संरचना पनि दोषी देखिन्छ । घरको आर्थिक भार पुरुषले नै समाल्नु पर्ने , सम्पूर्ण परिवारको संरक्षण पुरुषले नै लिनु पर्ने आदि जस्ता नेपाली संस्कारले पनि प्रभाव पारेको हुनसक्छ केहीमात्रामा भएपनि । महिलाहरुले पनि धेरै सामाजिक र संस्कृतीरुपमा बन्धनहरु झेल्नु पर्ने हुनाले पनि हुन सक्छ आत्महत्याको बाटो अपनाउने । जन्मेदेखि नमरुन्जेल कसै न कसैको संरक्षणमा रहनुपर्ने भएकोले पनि हुन सक्छ । यसमा स्वयं व्यक्ति र राज्य दुवै दोषी हुन् भन्दा अत्युक्ति नहोला कि ¤ प्रतिकुलता समाजबाट निर्माण समाजमा महिला बढि पर्खालले घेरेर हुर्काउने प्रचलनले पनि यसलाई प्रभाव पारेको हो नै ।
पछिल्लो समय संसारमा तनाव कै कारणमात्र नभएर मान्छेलाई आफूप्रति ध्यानार्कषण गर्नको लागि पनि कतिले विभिन्न प्रकारको आत्महत्या गरिरहेको हामी देखिरहेका छौं । आफू मरेपछि पनि आफ्नो मरण देखेर दुँनिया चकित खाओस् किसिमको । देखासिकी र नक्कलको परिणाम पनि भन्न सकिन्छ ।
तनाव व्यवस्थापन कसरी गर्छन ?आत्महत्याको मुख्य कारण तनाव नै हो भलै तनाव बहुआयमिक होलान् । धेरै तनाव जुन व्यक्तिमा संचय भएको छ उसमा आत्महत्याको संभावना बढि हुन्छ । तनाव व्यवस्थापन कसरी गर्ने ? भन्ने प्रश्नमा मनोरोग चिकित्सक डा. ऋषभ कोइराला भन्छन्, ‘मनोविद कहाँ जाने । औषधी खाने मुख्यतः एक्लै नबस्ने र आफ्नो कुरा नजिकको मान्छेलाई भन्ने गर्नुपर्छ ।’ त्यसैगरी उनी स्वमं कसरी तनाव मुक्त हुनुहुन्छ भन्ने प्रश्नमा ‘परिवारसँग बसेर कुरा गर्छु । एरोविक गर्छु । पुस्तक पढ्ने साथै फिल्म हेर्ने गर्छु ।’ राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति पार्बती रावलभने आफूलाईु तनाव हुँदा ३÷४ मिनेट आँखा चिम्म गरेर बसे पश्चात तनाव मुक्त हुन्छिन् रे । मैले राजनितिक बिश्लेषक तथा लेखक युग पाठकलाई पनि सोधेकी थिएँ । उनी भने तनाव हुदाँ सुतिदिन्छन् रे । फिल्म हेर्न गर्छु साथै पढ्छु भन्छन् उनी ।
यस्तै–यस्तै अनेकन उपाय हुन सक्छन् आफूलाई तनावबाट मुक्त हुनको लागि । मरिहाल्नु या आत्माहत्या गरिहाल्नु मात्र समस्याको समाधान भने होइन । संसार सुन्दर छ । जीन्दगी पनि त सुन्दर छ नि ¤ भन्छन् नि एकबारको जुनी ¤ एकबारको जुनी, यसैमा छ नि बाँच्नुको मज्जा ।