–जोसेफ शाहीकाठमाडौं । गीत संगीत भाषण होइन, न त अतिवादी शब्दहरुको टोकरी नै । साधना र सिर्जनाको संवेदनशीलताको महत्व साँचो अर्थमा बुझेको कलाकारले समाजलाई अराजकतातर्फ धकेल्ने ‘खिचडी सिर्जना’मा समय खर्च गर्नै सक्दैन । टुक्का मिलाउन आउँछ भन्दैमा एउटा कलाकारले टुक्का जोडेरै मुलुकको कायापलट गर्दिन्छु भन्ने महत्वकांक्षा राख्नु मूर्खता मात्रै हो ।
देश र जनताको त्यति धेरै माया छ भने त्यस्ता कलाकारले मायाँ पिरतीका गीत गाउन छोडिदिए हुन्छ । वर्षभरी माया पिरतीका गीत गाएर देशविदेश धाउने अनि राजनैतिक माहोललाई छोपेर सस्ता गीत तयार पारेर आफ्नो पल्लाभारी पार्न खोज्ने प्रवृति पटक्कै राम्रो होइन । कलाकार पनि मुलुकका नागरिक भएकाले देशको विकाश र सम्बृद्धिमा चासो हुनु स्वभाविक हो । तर काँचा शब्दहरु जम्मा पारेर तयार पारिएको गीत प्रतिपक्षले गरेको भाषण भन्दा पृथक नहुने हो भने त्यस्ता गीतलाई सिर्जनाको परिभाषाले शायदै समेट्ला ।
सन्दर्भ चर्चित लोक गायक पशुपति शर्माको भर्खरै सार्वजनिक गीत ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट’ को हो । गीतमा गायक शर्माले भ्रष्टाचार र राजनैतिक बेथितिको विरोध गरेका छन् । गीतको भाव यथार्थपरक लागेपनि समग्रतामा यसले दिने सन्देशले आमजनतालाई थप निराश बनाउने देखिन्छ । के यो बीचमा देशमा केहीपनि राम्रा प्रयत्नहरु भएकै छैनन् त ? पक्कैपनि भएका छन् । भलै ती कार्यहरु संस्थागत हुन बाँकी होलान् ।
एउटा कलाकारले गाएको गीत राजनैतिक दलको एजेण्डा बन्नु सबैभन्दा दुखद् कुरा हो । पशुपति शर्मा आमनेपालीका कलाकार हुन । यदि कलाकारलाई अन्यायमा पारेर सिर्जनामाथि अचाक्ली हस्तक्षेप भएको हो भने सबैभन्दा अघि कलाकार नै बिरोधमा उत्रिनु पथ्र्यो । तर, माइतीघरमा पशुपति शर्माको गीत यूट्युवबाट हटाइएको भन्दै परिचालित एक राजनैतिक झुण्ड बिरोधमा उत्रियो । यदि कसैले फेरि नेपालमा उदाहरणीय कार्यहरु भइरहेका छन् भन्दै गीत निकाल्यो भने त्यो झुण्ड फेरि पनि बिरोधमा उत्रिनेछ । स्ट्राइकरद्वारा क्यारिम बोर्डका गोटीहरु उछिट्याउने गरी हानिएका छन् ।
‘मलाई अमेरिका यही, मलाई जापान पनि यही’ यो गीतले पशुपतिलाई साँगीतिक क्षेत्रमा मजैले स्थापित गरिदियो । पशुपतिले सारा देशबासीको स्नेह र स्यावासी बटुले । त्यही स्नेह र स्यावासी मिसिएको आर्शिवादले उनलाई कलाकारिताको यो उचाईमा पुर्याएको हो । उनको गीत सुनेरै कतिपय यूवा बिदेश पलायन हुनबाट पछि हटे होलान । तर, आज उनै पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ गीत सुनेपछि ती युवाको मानस्पटलमा कस्तो छाप पर्ला ? पशुपतिले यही गीत बिदेशमा गाए भने यसले सबैभन्दा बढी निराश बिदेशिएका युवालाई बनाउनेछ ।
विरोध झेलेपछि केही शब्दहरु सच्याएर फेरि गीत बजारमा ल्याउने प्रतिबद्धतासहित पशुपतिले लामै स्टाटस लेखेर गीत यूट्युबबाट हटाएको जानकारी गराए । अनि एक राजनितिक झुण्ड विरोधमा उत्रियो । यसको तात्वीक अर्थ कसरी बुझ्ने ? यदि पशुपतिले गीत सार्वजनिक गर्नुअघि अलिकति बिचार मन्थन, गीतसँग जोडिने निकायको अनौपचारिक रुपमा राय सुझाव लिएको भए न स्टाटस लेखेर गीत हटाउनुपथ्र्याे, न त राजनैतिक झुण्डले घोक्रो सुक्नेगरी चिच्याउनुपथ्र्यो ।