राजा महेन्द्र र बिपी कोइरालाई नेपालको इतिहासमा स्मरणीय व्यक्तित्व हुन् । नेपालको इतिहासमा राजा महेन्द्र र बिपी कोइरालालाई बिर्सेर राजनीतिक निकास पाइन्न । यी दुई व्यक्तित्वबीच कसरी विवाद बढ्यो भन्ने कुराको रहस्य के हो त्यो खोजीको विषय हो । इतिहास राष्ट्रको ऐना हो । ऐना हेरेर अनुहारमा लागेको दाग हटाएजस्तै इतिहासमा लागेका दाग हटाउन सक्नुपर्दछ । २०१७ साउनको एक घटनाले नेपालको राजनीतिमा ठूलो प्रभाव पारेको छ । २०१७ साउनमा कस्तो घटना भयो र त्यसमा मुख्य पात्र को थिए भन्ने प्रश्न उठ्छ । यहाँ योगी नरहरिनाथ को थिए भन्ने चर्चा उचित हुन्छ । योगी नरहरिनाथको जन्म विक्रम संवत् १९७१ फागुन १७ गते भएको हो र उहाँको देहावसान २०५९ फागुन १४ गते भएको थियो । योगीजीका कीर्ति, ऐतिहासिक खोज र अनुसन्धान नेपालको इतिहासका खोजपूर्ण स्रोत हुन पुगेका छन् । उनी इतिहास निर्माणका योद्धा हुन् । २००७ मा पृथ्वीनारायण शाहका दिव्य उपदेश प्रकाशित गर्नु भएको र त्यसैगरी इतिहास प्रकाशन सन्धिपत्र–संग्रह– सात भागसम्म, शिखरिणी यात्रा, गोर्खा वंशावली, हिमवतखण्ड, नेपालका चौध अञ्चल आदिइत्यादि ग्रन्थ प्रकाशित गराएर देशका लागि ठूलो योगदान गर्नु भएको छ । योगी नरहरिनाथले हिन्दू तथा बौद्ध धर्मको व्याख्या खोज अनुसन्धानमा जीवन बिताउनु भयो । नेपालको राष्ट्रियतालाई एकताको सूत्रमा आवद्ध गर्न सक्ने स्रंोतमध्ये राजसंस्था, हिन्दू अधिराज्य र नेपाली भाषा हो भन्दै हिमवतखण्डमा विभिन्न जाति जनजातिबीच ‘अनेकतामा एकता’ कायम हुनु तराई, पहाड, हिमाली क्षेत्रका नेपाली जातिबीच एकता नै नेपालीको सम्पत्ति हो भन्ने कुरामा योगीजीको ठूलो विश्वास थियो । नेपाली भाषा राष्ट्रभाषाका रुपमा कायम हुँदाहुँदै स्थानीय जातीय भाषा संरक्षण गर्नुपर्दछ भन्दै जातीय भाषा पनि नेपालका सम्पत्ति हुन् भन्नेमा विश्वस्त हुनुहुन्थ्यो ।
योगी नरहरिनाथले देश भ्रमणका बेला राष्ट्रनिर्माता पृथ्वीनारायण शाहबाट भाइ भारदारको भेलामा निर्देशन दिएका अद्वितीय हस्तलिखित उपदेश पत्ता लगाएर प्रकाशित गराएर नेपाली जनमानसमा महान उपलब्धि प्रस्तुत गर्नु भएको थियो । योगी एक सफल अन्वेषक मात्र नभएर एक कुशल वक्ता हुनुहुन्थ्यो । घण्टौँसम्म बोल्दा पनि उहाँ थाक्न हुन्नथ्यो । योगी नरहरिनाथको प्रयासमा दिव्य उपदेश हस्तलिखितरुपमा भेटिएको हो । दिव्य उपदेशमा पृथ्वीनारायण शाहले उसैबेला भनेका थिए, ‘उप्रान्त यो राज्य दुई ढुंगाको तरुल जस्तो रहेछ । चीनको बादशाहसँग ठूलो घाहा (राम्रो सम्बन्ध)राख्नु, दक्षिणको समुन्द्रको बादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ । देशका महाजनहरु हाम्रा मुलुकमा आया भन्या दुनिया कंगाल गरी छाडछन् ।’ राष्ट्रनिर्माताका दिव्य उपदेश सम्पूर्ण नेपालीका लागि सधैँ अजरअमर छ । योगीजी थापाकुलमा जन्मिएर पनि विद्वान ब्राह्मण भन्दा माथिको कहलिनु भयो भने डा.स्वामी प्रपन्नाचार्य पनि राई वंशमा जन्मिएर पनि सिद्धहस्त ब्राह्मण भन्दा उच्चकोटीको मानिनु हुन्छ । स्व. योगी नरहरिनाथ तथा वेदका प्रकाण्ड विद्वान स्व (स्वामी प्रपन्नाचार्य ऋषितुल्य हुनुहुन्छ ।
२०१७ को राजनीतिक घटनाक्रम होस् वा २०३६ को जनमतसंग्रह वा २०४६ को सत्ता परिवर्तन । सबैमा योगीजी मुछिनु भएको छ । पञ्चायतकालमा नयाँ शिक्षा योजना कार्यान्वयनविरुद्ध उहाँ सशक्त विरोधमा उत्रिएकाले आफ्नो प्रभूत्वका बेला नक्कली आरोप लगाएर डा. मोहम्मद् मोहसिनको भित्री आदेशमा अपमानित तरिकाले जेल पनि पर्नु भएको थियो । योगी नरहरिनाथ जस्तो महान देशभक्त ऋषि भइसकेको व्यक्तित्वमाथि षड्यन्त्र गरेर जेलमा दुःख दिएर राख्नु यो जस्तो दुःखद घटना केही हुनसक्तैन । कर्मवीर महामण्डलका अध्यक्ष योगी नरहरिनाथ असोजतिर गोर्खा पुगेका थिए । २०१७ कात्तिक ९ गते दिउँसो ३००० जतिको जुलुश कर्मवीर महामण्डलको झण्डा लिई ‘नेपाली कांगे्रस धोका हो, पक्षपाती सरकार मान्दैनौँं’ भन्ने कांगे्रसविरोधी कडा नारा लगाउँदै अड्डाअगाडि जुलुस आउँदा प्रहरीसँग भिडन्त भइ ढुंगामुडा लाठी चार्जपछि गोलीकाण्ड भयो । ७ जनाको मृत्यु भयो । १० जना गोलीबाट घाइते भए । १० जनाको हातखुट्टा भाँचिएकाले आतङ्क सिर्जना भयो । यी सबै कुरा योगी नरहरिनाथको उग्र भाषणका कारण भएको भनियो । कात्तिक ९ गते गोर्खाकाण्ड भयो । नरहरिनाथलाई पक्राउ गर्ने आदेश भयो । तर गोर्खामा योगीजी कतै भेटिएनन् । गोर्खाकाण्ड भएको तेस्रोदिन योगी नरहरिनाथ जुम्लामा भएको हल्ला आयो । जबकी कस्सिएर हिँडदा गोर्खाबाट जुम्ला पुग्न १० दिन लाग्छ । योगीजीलाई कतिले उड्नसक्ने क्षमता थियो पनि भन्ने गर्थे ।
घटनाक्रम खोजी गर्दा धेरै होलान् तर योगीलाई कांगे्रस मास्न राजदरबारले लिखत दिएर पठाएको छ भन्ने झुठा रिपोर्ट बिपी कोइरालाका कानमा पारिएको रहेछ । यो कुरा बिपी कोइरालाले आप्mनो आत्मवृतान्तमा लेखेका पनि छन् । बिपी पनि त्यही कुरालाई विश्वास गरेर दरबारबिरुद्ध बोल्न थाले । बेलायतबाट राजा महेन्द्र फर्केर आएपछि प्रधानमन्त्रीलाई बोलाएर राजा महेन्द्रले बेलायतबाट ल्याएका उपहार श्रीमती प्रधानमन्त्री सुशीलालाई छालाको ब्याग, बिपीलाई टेपरिकर्डर, घडी, ब्रास्लेट दिँदै ‘तपाईंले हामीलाई किन मुछ्नु भो त्यो जोगीकाण्डमा ? विना प्रमाण मेराविरुद्ध किन वक्तव्य दिनु भयो ? किन हामीलाई दोष लगाउनु भयो ? योगीलाई कारबाही गर्ने हुँदाहुँदै किन पब्लिक वक्तव्य दिनु भयो ?’ भन्दै राजा महेन्द्रले बिपीलाई भनेको र त्यसकुराको प्रतिकार गर्दै बिपीले त्यसबेला भने, ‘मैले होइन जोगीले नै सरकारलाई मुछिहिँडेको छ ।’ महाराजाधिराजले मलाई आदेश बक्सेको छ कि यो धर्म नमान्ने प्रधानमन्त्री र त्यसको सरकारविरुद्ध विद्रोह गरे हुन्छ भनिकन हिँड्थ्यो’ भन्ने कुरा बिपीले आत्मवृत्तान्तमा उल्लेख गरेको कुरालाई अध्ययन गर्दा राजा महेन्द्र र प्रधानमन्त्री कोइरालाबीच सम्बन्ध विच्छेदको अध्याय नै यहीँबाट शुरु भएको देखिन्छ ।
तर गोरखाकाण्ड र योगी नरहरिनाथबीचको वास्तविकता त्यस्तो थिएन । बिपीलाई कार्यकर्ताले झूठो कुरा सुनाएका रहेछन् । योगीबारे वास्तविकता अर्कै थियो । ‘कर्मवीर महामण्डलले गरेको अनुरोध अनुसार पाँचसय रुपैयाँ चन्दा श्री ५ महाराजाधिराज सरकारबाट बक्सेको छ’ भन्ने कुरा राजा महेन्द्रका सैनिक सचिव शेरबहादुर मल्लले लेख्नु भएको कागज योगीजीले बोक्नु भएको र त्यही कागजलाई कांग्रेसका कार्यकर्ताले देखेको हुँदा त्यसैलाई राजदरबारबाटै कांगे्रसको विरोधमा जनतालाई बिद्रोह गराउन योगीलाई पत्र दिई पठाइएको थियो भन्ने भ्रम खडा गराएर राजा र प्रधानमन्त्रीबीच फाटोको जालो बन्न गयो । यही बेलिबिस्तारक्रममा योगी नरहरिनाथलाई पक्राउ पूर्जी पठाई जुम्लाबाट पक्राउ गरेर नेपालगञ्जमा ल्याई त्यतैबाट सेना प्रयोग गरेर कालीगण्डकीमा हात्तीमाथि चढाएर नदी पार गराउने सन्दर्भमा नरहरिनाथलाई नदीमा डुबाएर समाप्त पार्ने षड्यन्त्रअनुसार नरहरिनाथलाई हात्तीमा चढाएर केहीबेरमा नदी पार गर्नेक्रममा हात्ती फसेपछि नरहरिनाथ पनि डुब्न पुगे । तर नरहरिनाथमा पौडनसक्ने क्षमता रहेछ, उनी बाँचे । यो कुरा बिपीलाई जानकारी थियो वा थिएन, यसै भन्न सकिँदैन । तर नरहरिनाथप्रति कांग्रेस कार्यकर्ता आक्रोशित रहिरहे । वास्तवमा योगी नरहरिनाथ इतिहासको खोजीमा पण्डित नयराज पन्त, बाबुराम आचार्य, सूर्यविक्रम ज्ञवाली, शंकरमान राजवंशी, नयराज पौडयाल, धनवज्र बज्राचार्य, ज्ञानमणि नेपाललगायत नेपालका खोज अनुसन्धानका हस्ती झैँ नेपालको मौलिक इतिहासको खोजीमा तल्लीन थिए । योगी नरहरिनाथकै सक्रियतामा पृथ्वीनारायण शाहका सुन्दर अक्षरमा लेखिएको दिव्यउपदेश पत्ता लागेर २००८ मा प्रकाशित भएको थियो । तर नेपालको प्रजातान्त्रिक इतिहास एकजना योगीमाथिको शंका–आशंकाको कारणले आँसुका अक्षरले लेखिनुपर्ने स्थिति आएको हो ।
योगीजीको कुटी मृगस्थलीमा सधैँ एउटा गाईको बाछा अंगरक्षकसरह रहने गथ्र्यो । योगीजी बिमार भएपछि त्यो बाछाले कहिले छाडेन । योगीजीको देहावसानपछि बाछाले आँसुका धारा चुहाइरह्यो । यो घटना यो लेखक स्वयम्ले देखिजानेको विषय हो । पछि योगीको समाधिस्थलमा दिनमा एकपटक गाईको बाछा घुम्ने गथ्र्यो । यसबाट गाईमा चेतनाको हिरण्मय शक्ति व्याप्त छ भन्न सकिन्छ । हिन्दू तथा बौद्ध ग्रन्थले गाईलाई मातासरह मानेको छ । वैदिक ग्रन्थमा उल्लेख छ, ‘गावो विश्वस्य मातरः’ अर्थात् गाई संसारका प्राणीकी आमा हुन् । वैदिककालदेखि नै गाईका शरीरमा विभिन्न देवी–देवताले बास गरेको हुनाले गाईप्रति श्रद्धा र भक्ति गर्नेहरुले भूक्ति–मुक्ति प्राप्त गर्ने विश्वास गर्दै आएका हुन् । हिन्दू वा बौद्धहरुका लागि गाई पवित्र एवम् पूजनीय जनावर हो । गाई मानव मात्रको माताको रुपमा मानिएका नीतिगत मान्यता भित्रका तथ्यहरु हुन् । गाईको गहुँत, गोबरसमेत रोग निरोधक हुन्छ भन्ने सत्य प्रमाणित भईको कुरा योगीजीलाई राम्ररी थाहा थियो । राजनीतिक परिवर्तनमा अनेकौँ घटनाले प्रभाव पारेको हुन्छ । भारतीय हस्तक्षेपको कुरा छ छदैँछ तर योगी नरहरिनाथलाई बिपी कोइरालाले चिन्न नसक्नु पनि २०१७ को परिवर्तनको कारण हुन पुग्न गयो । मैले २०१४ मा आठराई मूलपानी हाइस्कुलको ठूलो सभाकक्षमा योगी नरहरिनाथको उपस्थिति भएर त्यहाँ तीनघण्टा लामो भाषणा गर्नु भयो । उहाँका यस्ता भावना व्यक्त भएकी त्यस्तो महान राष्ट्रभक्त, खोजकर्ताको भाषण सुनेर अत्यन्त प्रभाव प¥यो । त्यो बेलादेखि योगीजीसँग साहै्र प्रभावित भएको र २०२४ मा काठमाडौं आएपछि निरन्तर मृगस्थलीमा भेट्न पुग्थेँ । उहाँ पनि मसँग धेरै प्रभावित हुनुहुन्थ्यो ।
नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्री भएका बेला २०३२ मंसिरमा झापामा रहेका बेला झापामा नक्सलाइट नामका कम्युनिष्टको चहलपहल बढेको थियो । पञ्चायतको त नामै लिनै नपाइनेजस्तो थियो । सोचेँ । त्यो बेला झापामा योगी नरहरिनाथबाट राष्ट्रियता अभियान चलाउन सकियो भने झापाका जनतालाई ठूलो प्रभाव पर्छ र कम्युनिष्ट छताछुल्ल हुन्छन् भनेर प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाललाई फोनमा अनुरोध गरेँ । ‘झापामा राष्ट्रियता, राजतन्त्र र पञ्चायतको प्रभाव बढाउन हजुरले योगी नरहरिनाथलाई हवाईजहाजको टिकट काटेर चन्द्रगढी पठाइदिए हामी यहाँ अभियान चाल्छौँ ।’ उहाँले विश्वास गरेर गुरु योगी नरहरिनाथलाई मंसिरमा पठाइदिनु भयो । योगीजी झापा आएपछि झापाका हरेक हाटबजारमा शक्तिशाली माइक व्यवस्था गरेर हाटमा योगीको भाषण व्यवस्था गरियो । मान्छे यति प्रभावित भएकी योगी नरहरिनाथको तीन घण्टा लामो भाषण नछाडी सुनिरहे असंख्य मानिसहरु । शनिश्चरे, बुधबारे, अनारमुनि, घैलाडुबा, सुरुङ्गा, धुलाबारी, काँकरभिट्टालगायतका हाटहरुमा नरहरिनाथको भाषणले ठूलो प्रभाव जमायो । पछि योगीले धरान, इटहरीमा पनि प्रभावशाली भाषण गरेर नेपाली जनमानसमा राष्ट्रियताको लहर ल्याउने काम गर्नु भयो । योगी नरहरिसँग मैले चिनजान गराएका धेरै व्यक्ति धेरै हुनुहुन्छ । तीमध्ये शनिश्चरेका गोविन्द काफ्ले त्यो बेलादेखि नरहरिनाथका भक्त भएर योगी नरहरिनाथ अक्षय कोष तथा उहाँको सम्झनामा अहिले आफ्नो मूल्यवान पाँच कठ्ठा जग्गाजमीन दान गरेर योगीबारे स्मरणीय कार्य गर्न त्योबेलादेखि सशक्त बन्नु भएको छ । जेहोस्, योगी हाम्रोबीच नरहे पनि उहाँका विचार, खोज अनुसन्धान नेपाली समाजमा अजरअमर छन् ।
नेपालको प्रजातान्त्रिक अधिकारको लडाईंमा विपी कोइरालाको ठूलो देन छ । विपी प्रजातन्त्रबाट मात्र देश बाँच्छ भन्थे । तर राष्ट्रियता र प्रजातन्त्रलाई सँगै हाँकेर देशको स्वाधीनता र सार्वभौमसत्ताको संरक्षण गर्दै जनताको सक्रिय सहभागिता जुटाउने अडान राजा महेन्द्रको थियो । बिपीको भारतका जयप्रकाश नारायणलगायत थुपैै्र नेतासँगको सहभासले बिपी भारतीय नेताले भनेको कुरा असमर्थ हुन्थे । परिस्थिति यस्तो आउन थालेको थियो कि राजा महेन्द्र र बिपीबीच वैमनष्यता बढ्नु र उता बिस्तारै भारतले नेपालका नदी, जमीन र सार्वभौमसत्तामा पकड जमाउन थालेको, दाङदेउखुरीमा जलामय बनाएर भारतले नहर बनाएर पानी लैजाने योजनाअनुसार भारतीयबाट पक्की बंगला बनिसकेका थिए । त्यसअवस्थामा नेपाली जनता कांग्रेसी सरकारसँग संगठितरुपमा आक्रोशित हुन लागेको अवस्था थियो । वास्तवमा २०१७ अगाडि नेपालमा भारतीय फौैज राखिएको थियो । ९० प्रतिशत भारतीय मुद्राको नेपालमा चलनचल्ती थियो । नेपालको जमीन दरिद गर्न र बिक्री गर्न भारतीय स्वतन्त्र थिए । नेपालको एक जिल्लाबाट अर्को जिल्लामा जान भारतकै बाटो हिँडनु पर्ने बाध्यता थियो, नेपालको अर्को कुनै विकल्प थिएनन् । नेपालभित्र हिन्दी भाषाले ठूलो प्रभाव जमाएको थियो । यसरी नेपाल भारतको प्रभावक्षेत्रमा परिणत हुन लागेको थियो ।
एउटा स्वतन्त्र सार्वभौम राष्ट्रको संरक्षण आफ्नै देशका फौजबाट मात्र हुन्छ । एउटा स्वतन्त्र राष्ट्रको आफ्नै मुद्रा हुन्छ, आफ्नै भाषा हुन्छ । आफ्नो देशको भूभाग खरिद–बिक्री गर्ने अधिकार आफ्नै देशका नागरिकमा मात्र रहन्छ । तर २०१७ अगाडि नेपालको अवस्था त्यस्तो थिएन । २०१७ को परिवर्तनपछि क्रमशः कुनै पनि विदेशीलाई नेपालको जमीन खरिदबिक्रीमा रोक लगाइयो । नेपाली भाषालाई राष्ट्रभाषाका रुपमा लागु गरियो । नेपाली मुद्रालाई नेपालभर अनिवार्य गराइयो । भारतीय फौज बिनासर्त नेपालबाट हटाइयो । नेपालको पेटमा पहाड मधेश दुवैलाई सुविधा हुने गरी पूर्व–पश्चिम राजमार्गका लागि २०१८ मा गैँडाकोटमा श्री ५ महेन्द्रबाट शिलान्यास भयो । राजा महेन्द्रले जुन उद्देश्यबाट २०१७ को घटना घटाए पनि त्यसका पछाडि राष्ट्रियता सुदृढ गराएको उज्यालो पक्ष पनि देखियो । राजा महेन्द्रले विश्वका ठूला राष्ट्रको दबाबबाट मुक्त हुन असंलग्न परराष्ट्र नीतिको सिद्धान्त अवलम्बन गरेर संयुक्त राष्ट्र संघमा नेपालको अगुवाई गराउन सकेको थियो । आधुनिक चीनका शक्तिशाली नेता माउत्सेतुङ र भारतका शक्तिशाली प्रधानमन्त्री जवाहारलाल नेहरु यी दुवैसँग राजा महेन्द्रले सन्तुलित मित्रता कायम गर्न सकेको थियो । राष्ट्रिय अन्तराष्ट्रिय प्रतिष्ठा नबढेको होइन । तर प्रतिशोध र वैदेशिक हस्तक्षपका कारणले हामीले आफूलाई चिन्न सकेका छैनौँ । नेपालको अन्योल भनेको आपसमा समझदारी र राष्ट्रियताको महसुस् हुन नसक्नु ।
राष्ट्रिय राजनीति भनेको तर्क र समझदारीको संगम हो । यसको संवेदनशीलतालाई सबैले कदर गर्न जान्नुपर्छ । प्रजातान्त्रिक इतिहासमा नेपाली कांग्रेसका नेता बिपी एक स्मरणीय व्यक्तित्व हुन् । २०१७ को काण्डपछिको घटनाक्रममा २०२५ देखि भारतमा निर्वासित जीवन बिताएर बिपी २०३३ पुसमा राष्ट्रियताको नारा दिएर नेपाल फर्के । तर सूर्यबहादुर थापा, पशुपति शम्सेरलगायतका पञ्चले बिपी भारतबाट नेपाल फर्कँदा २०३३ मा हवाईफिल्डमा कालो झण्डा देखाएर व्यवधान खडा गरे । पञ्चहरुको प्रतिशोध र भाँजी हालेका कारण देशभक्त र प्रजातन्त्रवादी शक्तिको संगम हुन नसकेकाले नेपालको राष्ट्रियता र प्रजातन्त्रबीचमा समन्वय भएर स्थायित्व लिन सकिरहेको छैन । २०३६ को जनमत संग्रहपछि पञ्चायतभित्र बहुदलीयपक्ष र निर्दलीय पक्षधरको विभाजन हुन लागेकाले त्यही अवस्थामा भारतले नेपालमा नाकाबन्दी लगाएको अप्ठ्यारो अवस्थामा नेपाली कांग्रेस र कम्युनिष्टको गठबन्धन भई भारतको सहयोगमा गणेशमान सिंहको घरमा जमघट भई आन्दोलन चर्काउने निर्णय भई २०४६ फागुन ७ गतेदेखि आन्दोलन प्रारम्भ भई २०४६ चैत २६ गते राजा वीरेन्द्रसँग सम्झौता भई जनआन्दोलन बिर्सजन भयो । राजाकै समझदारीमा अन्तरिक प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नेतृत्वमा नेपाल अधिराज्यको संविधान २०४७ कात्तिक २३ गते घोषणा भएपछि आमनिर्वाचन भयो । आम निर्वाचनपछि नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने ।
गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि नेपालको अधोगति प्रारम्भ हुन थाल्यो । बिपीका आफ्नै भाइ गिरिजाले बिपीका विचारमा बदमासी गरे । राष्ट्रिय पोशाक टोपीमा सधैँ सजिएर हिँड्ने गिरिजाको व्यवहारचाहिँ अत्यन्त राष्ट्रघाती थियो । यसको नालिबेली लेख्दा छुट्टै अध्याय हुनजान्छ ।