सुमित श्रेष्ठरामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुममा रहेको एक व्यक्तिको जग्गा अर्कै व्यक्तिले जालसाँजी गरी बिक्री गरेको खुलासा भएको छ ।खाँडादेवी गाउँपालिका–१ कोथवेमा बखानसिंह तामाङ र दिर्गबहादुर तामाङको नामको संयुक्त जग्गाधनी पूर्जा रहेको १९ रोपनी १२ आना ३ पैसा जग्गा बखानसिंह तामाङको छोरा दिर्गराजले भक्तपुर जिल्ला दुवाकोट नगरपालिका–९ चाँगुका उमेश थापालाई बिक्री गरेका हुन् ।
बखानसिंह तामाङको छोरा दिर्गराजले दिर्गराज तामाङ र दिर्गबहादुर तामाङ नाम गरेका ब्यक्ति एकै हुन् भनी वडा कार्यालयबाट सिफारिस बनाई जग्गा धनी पूर्जामा नाम संसोधन गरी जग्गा आफ्नो नाममा ल्याएर उमेश थापालाई बिक्री गरेका थिए ।
खाँडादेवी गाउँपालिकाको खनियापानीमा रहेको आफ्नो बुबाको नामको कित्ता नम्बर ३/ङ ५९ को जग्गा बिक्री भएको हल्ला सुनेपछि जिल्ला मालपोत कार्यालयमा आएर बुझ्दा किर्ते गरी जग्गा बिक्री भएको खुलेको दिर्गबहादुरका छोरा हिराबहादुर घिसिङले बताउनुभयो । २०७५ साल कार्तिक १६ गते जग्गा बिक्री गरेको पाइएपछि छोरा हिराबहादुर घिसिङले जिल्ला अदालत रामेछापमा जाहेरी दिनुभएको छ ।
आफ्नो बुबाको नाममा रहेको जग्गा वडा कार्यालय र मालपोत कार्यालयको मिलेमतोमा किर्ते कागजपत्र खडा गरी जग्गा अर्कै व्यक्तिको नाममा बिक्री गराएको हिरामानको आरोप छ ।
वडा कार्यालयबाट नाम संशोधनक गर्न सिफारिस लिनको लागि साँक्षी राखिएको व्यक्तिहरुको नाममा समेत किर्ते हस्ताक्षर गरिएको खुलेको छ । नाम संशोधनको लागि सिफारिस दिन आफूले साँक्षी नबसेको सिफारिसका लागि स्थानीयको मुचुल्कामा साँक्षी बनाइएका यसबिक्रम लामाले बताउनुभयो ।
‘लामाले भनुभयो– गत वैशाख २१ गतेको दिन सिफारिसको लागि राखिएको साँक्षीमा मेरोे पनि नाम रहेछ तर त्यस दिन म सर्लाहीको खोलाखर्क प्रहरी चौकीमा ड्यूटिमा थिएँ । प्रहरी असईसमेत रहेका उनले भने मैले पछि थाहा पाएँ मेरो नाम पनि साँक्षीमा राखिएको रहेछ । साँक्षीमा मेरो नाम र नागरिकता नम्बर उल्लेख गरिएको छ तर त्यसमा उल्लेख भएको मेरो नागरिकता नम्बर समेत मिलेको छैन । मेरो नाममा ल्याप्चे लगाइएको छ, यो कस्ले गरेको हो मलाई थाहा छैन ।’
नाम संशोधनको लागि वडा सिफारिस लिन उठाएको मुचुल्कामा पाँच जना व्यक्तिलाई साँक्षी राखिएकोमा पाँचै जना ब्यक्तिको नागरिकता नम्बर नमिलेको र उनीहरुले हस्ताक्षर समेत नगरेको बताएका छन् ।
यस विषयमा वडा अध्यक्ष विष्णुकुमार श्रेष्ठले भन्नुभयो आफूले मुचुल्काको आधारमा सिफारिस दिएको बताउनुभएको छ । यसमा वडा कार्यालयको कुनै गलत नियत छैन पाँच जना व्यक्तिको नागरिकता नम्बरसहित नाम उल्लेख गरेर मुचुल्का आएकाले सोही आधारमा सिफारिस दिएकोे वडाध्यक्ष श्रेष्ठले भन्नुभयो ।
त्यस्तै जिल्ला मालपोत कार्यालय रामेछापले पनि कागजातको आधारमा कार्यालयले जग्गा धनी पूर्जामा नाम संशोधन गरिदिएको बताएको छ । मालपोत कार्यालयले प्रमाणको आधारमा नाम संशोधन गरिदिएको भन्दै यसमा मालपोत कार्यालयको कुनै गल्ती नरहेको जिल्ला मालपोत कार्यालय रामेछापका सूचना अधिकारी दिनेश भण्डारीले बताउनुभयो । जग्गा धनी दिर्गबहादुरको मृत्यु भइसकेको र बखानसिंह तामाङ वि.स.२०३५ सालदेखि बेपत्ता रहेका छन् ।