काठमाडौं । सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले समानुपातिक र प्रत्यक्ष सांसदमा सरकारले गरेको विभेदको विरोध देखि संबैधानिक निकायमा महिला सहभागीता र गाँजा खेतीलाई बैधानिकता दिने सम्मका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसदहरु उमा रेग्मी, लक्ष्मी परियार र राम बहादुर विष्टले स्थानीय पुर्वाधार विकास कार्यक्रम संञ्चालन नियमावलिमा प्रत्यक्ष र समानुपातिका सांसदलाई विभेद गरिएको भन्दै नियमावलिको विरोध गरे । सांसद रेग्मीले स्थानीय निर्वाचन विकास साझेदारी कार्यक्रम संचालन नियमावलि २०७५ मा प्रत्यक्ष र समानुपातिक सांसदलाई विभेद गरिएको भन्दै उहाँहरुले विभेदकारी नियमावलि परिर्वतन गर्न माग गर्नुभयो । एउटै निर्वाचित प्रणालीबाट निर्वाचित सांसदलाई एउटालाई पहिलो र अर्कोलाई दोश्रो दर्जाको बनाउने नियमावलि ‘समानुपातिक सांसदको तर्फबाट च्यात्न चाहन्छु’ भन्दै उहाँले नियमावलिलाई बैठक कक्षमै च्यात्नुभयो ।
सांसद परियाले समानुपातिकलाई अंगिकृत र प्रत्यक्षलाई वंशजको अधिकार दिईएको भन्दै सबै सदस्यलाई समान हैसियतको व्यवहार गर्ने गरि निति निर्देशिका बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । सांसद राम बहादुर विष्टले राणा कालिन समयमा ए, बी र सी क्लासमा राणाहरुलाई वर्गिकरण गरेजस्तै सरकारले सत्तापक्षका प्रत्यक्षलाई ए , प्रतिपक्षका प्रत्यक्षलाई बी र सबै समानुपातिक सांसदलाई सी वर्गमा राखेको भन्दै नियमावलिमा भएको व्यवस्थाको विरोध गर्नुभयो ।
स्थानीय विकास कार्यक्रम नियमावलिमा प्रत्यक्ष निर्वाचित सांसद संयोजक रहने गरि राष्ट्रियसभा, प्रतिनिधिसभाका समानुपातिक सदस्य सहितको समिति बनाई सोही समितिका संयोजकको निर्णय अनुसार स्थानीय तहमा पुर्वाधार विकासका कार्यक्रम छनौट गरि बजेट विनियोजन गर्ने व्यवस्था गरिएको छ । सो व्यवस्थाको समानुपातिक सांसदहरुले विरोध गर्दै आएका छन् । सांसद राधा ज्ञवालीले संबैधानिक आयोगहरुमा संविधानको भावना र मर्म अनुसार महिला सहभागिता गराउन माग गर्नुभयो ।
सांसद विरोध खतिवडाले अन्य मुलुकमा जस्तै नेपालमा पनि लागु औषधको रुपमा प्रतिबन्धित रहेको गाँजालाई बैधानिक ढंगले खेती गर्ने व्यवस्था मिलाउनका लागि आवश्यक प्रबन्ध मिलाउन सरकारसंग माग गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार अपरान्ह १ बजेका लागि बोलाईएको छ ।