काठमाडौं ।जनगायक जीवन शर्माले लोकगायक पशुपति शर्माबारे राजनीतिक विभाजन अनुचित भएको बताउनु भएको छ ।
रेडियो जनता ८९.१ मेघाहर्जमा हरेक बिहीबार राति ८ बजे प्रसारण हुने कार्यक्रम ‘सिमली छाया’मा प्रस्तोता रामकुमार एलनसँगको कुराकानीमा गायक शर्माले भन्नुभयो, ‘गीतबारे शर्माले नै महसुस गरिसक्नु भएको छ, अब राजनीतिमा शर्मालाई तान्नु हुँदैन । त्यसले दलहरु र शर्मा दुवैलाई फाइदा गर्दैन ।’
शर्माले भन्नुभयो, ‘उकालो चढ्दै थिएँ, एउटा राई थरका भरियाको दुःख सुनेँ र त्यसलाई ५ मिनेटमा उतार्दा गीत बनेछ, त्यही गीत नै जीवन शर्माको परिचय सिमली छाया बन्यो । अहिले भ्रष्टाचारविरुद्ध गीत गाउँदैछु ।’ कार्यक्रम सिमली छायामा जीवन शर्मासँग गरिएको कुराकानीको सारः
पछिल्लो समय यहाँ काठमाडौं बाहिर हुनुहुन्छ, के अभियानमा व्यस्त हुनुहुन्छ ?
म देशका विभिन्न ठाउँमा गरिब, दुःखी र जनताका गीत गाउँदै हिँडिरहेको छु । अस्तिमात्रै मैले बुटवलका विभिन्न भागमा आफ्ना प्रस्तुति जनताबीच राखेँ । कपिलबस्तु पुगेँ । त्यसपछि बिजुवार पुगियो । बिजुवारको कार्यक्रम सकेर दाङ आइपुगेको छु ।
देशका विभिन्न ठाउँमा तपाईं आफ्नै योजनामा या संघसंस्थाका संयोजनमा गीत गाउँदै हिँडिरहनुभएको छ ?
विभिन्न संघसंस्थाले बोलाएका छन् । विद्यालय तथा क्याम्पसले पनि कार्यक्रममा बोलाउने गर्नुहुन्छ । त्यस्तै विभिन्न महोत्सवमा पनि बोलाइन्छ । केही दिनमा दाङको हापुरेमा एउटा सांस्कृतिक तथा साहित्यक कार्यक्रम हुँदैछ । भालुवाङबाट त्यतातिर जाँदैछु ।
तपाईं तत्कालीन सरकार र माओवादीबीच वार्ता भएर भंग भएको ठाउँमा जाँदै हुनुहुन्छ । यो भन्दा अघि पनि हापुरे जानुभएको थियो ?
यसअघि हापुरे गएको थिइनँ । पहिलो यात्रा हो ।
तपाईं बाहिर रहेका बेला राजधानीमा गायक पशुपति शर्माको गीत व्यापक चर्चामा छ र मुलुकको सत्ता र प्रतिपक्षको एजेण्डाको विषय बनेको छ, यसमा तपाईंको प्रतिक्रिया के हो ?
वास्तवमा देशको कुनै पनि नागरिकले आफूलाई लागेको बोल्न र लेख्न पाउनुपर्छ । राज्यलाई आफ्ना अभिव्यक्तिमार्फत सचेत गराउन हरेक नागरिक स्वतन्त्र छन् । कवि, लेखक, गायक कलाकारलगायतले आफूलाई लागेको कुरा आफ्ना प्रस्तुतिमार्फत राख्न पाउनुपर्छ । यो नैसर्गिक अधिकार, राजनीतिक स्वतन्त्रता र मौलिक अधिकारको विषय पनि हो । यसैका आधारमा भन्दा पशुपति शर्माको गीत पनि नेपालमा व्याप्त विकृति र विसंगतिविरुद्ध सरकारप्रति व्यंग्य भएकाले धेरैले रुचाएका हुन् जस्तो लाग्छ । यसका साथै सर्जकले आफ्ना सिर्जना बाहिर ल्याउँदा आफ्ना हरेक शब्द र प्रस्तुतिबारे निकै ध्यान दिनुपर्छ । त्यसैले, गायक पशुपति शर्माले आफ्नो गीतबारे शुरुवातदेखि जुन कुरा राख्दै आउनुभएको छ, त्यसको सम्पूर्ण जिम्मेवारी उहाँकै हो । यसमा हामीले टिकाटिप्पणी गर्नु व्यर्थ हुन्छ ।
तर उहाँको गीतलाई लिएर संसदमा सत्तापक्ष र प्रतिपक्ष नै बाँडिएर देशको राजनीति नै तरंगित भयो नि ?
यसरी एउटा गीतले यसरी देशको राजनीतिलाई नै विभाजित गर्नु स्वयम् पशुपति शर्माका लागि पनि फाइदाजनक हुँदैन भन्ने लाग्छ । उहाँलाई विवादमा तान्नु पनि राम्रो होइन । उहाँ आफैँले गरिसकेको रिअलाइज नै पर्याप्त छ । यो विषयलाई थप नउचाल्दा नै बेश होला ।
मैले फेरि पनि यही विषयलाई जोड्न चाहेँ, तपाईं जस्ता गायकहरुले समेत आफ्नो गीतका माध्यमबाट आजको सत्ता स्थापनाका लागि जुन योगदान गर्नुभयो, आजको सत्ताले त्यो बिर्सेको जस्तो लाग्दैन ? के फेरि यस्तै गीतहरु गाउनुपर्ने हो अझै ? तपाईं हाम्रो तीन पुस्ताले लडेको लडाईँमा कहीँ कतै त्रुटि भएकै हो ?
यो व्यवस्थाप्रति पनि सहमति र असहमतिका कुरा आउनु स्वाभाविकै हो । तर यो व्यवस्थाको विकल्पमा पुरानो सत्ता कदापि हुन सक्दैन । यसमा हामीले सावधानी अपनाउनुपर्ने देखिन्छ । पशुपति शर्माको पनि त्यो नियत होइन । उहाँको गीतले त्यतातिर संकेत गरेजस्तो पनि लाग्दैन ।
अब प्रसंग बदलौँ, तपाईंको पालामा गाइने गीतलाई कसरी सम्झिनुहुन्छ ? तपार्इं जीवनका दुःख, सुख र ती पुराना तीतामिठा कडीहरुबारे बताइदिनुहोस् न ।
हामीले शुरुमा गाउँका शोषक र सामन्तविरुद्ध र जनता सचेत हुनुपर्छ र उठ्नुपर्छ भनेर गीत गाउँदा हामीलाई जेलनेल र हत्कडीका पुरस्कारहरु मिल्थे । कयौँपटक पुलिसको खोरमा थुनिने मात्र होइन लाठी र गोलीको समेत सामना गर्नुपर्यो । गोली पर्राबीचमै भागदौड गर्दै गीत गाएका थियौँ । हामी सारंगी बजाउँदै जनताको आँगनीमा बसेर र मझेरीमा टुकी बालेर गीत गाएको अझै सम्झिन्छु । हरेक दिन र साँझ हामी फरक फरक बस्तीमा पुगेर गाउने गथ्र्यौं । गरिब, दुखी र सर्वहारा वर्गका गीतहरु नै गाउँदै आइयो ।
तपाईंले गाउनुभएको सिमलीछाया गीत चाहिँ कसरी रचना भयो, यसको रचनागर्भबारे बताइदिनुहोस् न ?
यो कोठाभित्र बसेर र पलेंटी कसेर रचना भएको गीत होइन, बाटोमा हिँड्दै गर्दा अचानक एउटा बटुवा भारी बिसाँउदै पसिना पुछिरहेका देखें । र, उनीसँग कुराकानी हुँदै जाँदा करिब ४५ मिनेटको संवाद पाँच सात मिनेटमा उतारिएको मात्र हो । बटुवाका सबै कुरा अटाउन नसके पनि उनको संघर्षको कहानीको सार समेट्ने प्रयास मात्र गरिएको हो । यसको रचना ३८–३९ सालतिर बाटोमा हिँड्दै गर्दा कथाको आधारभूमि भेटिएपछि सम्भव भएको हो । म इञ्जिनियर पढ्दैगर्दा एउटा अति नै उकालो ठाउँ थियो । जहाँ एकजना भरिया बसिरहेका थिए । ती भरिया पूर्वका राई जातिका रहेछन् । तिनको जीवनकहानी सुन्दैजाँदा उनको घरको अवस्था निकै दयनीय रहेछ । उनको श्रीमतीको निधन भइसकेको रहेछ । घरमा छोराछोरी रहेनछन् । एक्लै जीवन जिउनुपर्दाका उनका पीडाहरु मार्मिक थिए । ८०–८५ वर्षका उमेरमा एउटा भरियाको त्यस्तो अवस्था देखेपछि यस्तो नियति कयौँ नेपालीको पनि हुने भएकाले यो भावको गीत सिर्जना भएको हो । उनीसँग छुट्टिएपछि उकालो लाग्दै गर्दा उनका कथाहरु आफैँ गीतमा समाहित भएछन् ।
आजभोलि चाहिँ यो गीतबारे कस्ता प्रतिक्रिया आइरहेका पाउनुभएको छ ?
आजभोलि पनि म गएको ठाउँमा यो गीत गाइएन भने स्रोताहरुले जीवन शर्मा कार्यक्रममा नै आएको छैन ठान्दारहेछन् । जहाँ जान्छु, त्यहाँ यो गीत अनिवार्य गाउनैपर्छ । स्रोताका लागि यो अनिवार्य नै भइसक्यो । आज फेरि अर्को सत्तालाई खबरदारी गर्ने कालोधन थुपारेर ढल्की हिँड्नु भन्दा, हलो जोत्नु, गिट्टी कुट्नु होला राम्रो धन्दा भन्ने गीत पनि निकै पनि मन पराइएको छ । यो गीत आजको सत्ताका मन्त्री र सांसदहरुलाई सम्झाइरहने, सचेत गराइरहने छ । आजभोलि म यो गीत पनि गाउँदै हिँडेको छु । सबै मन्त्री तत्कालीन ऊर्जामन्त्री गोकर्ण विष्टजस्तै सफेद फर्किउन् ।
तपाईं अहिले पनि रक्तिम सांस्कृतिक समूहमार्फत नै गीत गाइरहनुभएको छ वा अन्य कुनै संस्था पनि छ ?
मैले २०४३ देखि रक्तिम सांस्कृतिक अभियान स्थापना गरेर त्यस्कै नामबाट गीत गाउँदै आइरहेको थिएँ । तर यही फागुन १ देखि संस्थाको अध्यक्ष र सदस्यबाट राजीनामा दिएको छु । म नरहे पनि त्यहाँभित्र रहेका क्रियाशील, देश र जनताप्रति बफादार कलाकार साथीहरु हुनुहुन्छ । उहाँहरुलाई प्रेरणा र प्रोत्साहन गर्ने काम गरिरहनेछु । त्यो बाहेक नेपालका जनवादी कलाकारिता क्षेत्रमा आवद्ध साथीलाई साथ, समर्थन र सहयोग गरिरहेको छु । यसमै सक्रिय छु ।
पहिलोचोटी काठमाडौं कहिले आउनुभयो ? तपाईंको गायन र अध्ययनका ती दिनहरु कस्ता थिए ? ती अनुभूतिहरु सुनाइदिनुहोस् न ।
पहिलोपटक २०३४ मा काठमाडौं आएको थिएँ । त्यतिबेला देशको राजनीतिक अवस्था अत्यन्तै संवेदनशील थियो । नागरिकले स्वतन्त्रता अनुभूति गर्न पाएका थिएनन् । हामीले खुलेर बोल्न, लेख्न र गाउने अवस्था थिएन । म इञ्जिनियरिङ पढ्न काठमाडौं आएको थिएँ । पुल्चोकमा पढ्दै गर्दा देशको अवस्था कहालीलाग्दो थियो । पञ्चहरुको बिगबिगी भएकाले मान्छेहरु बोल्न डराउँथे । राजाविरुद्ध एक शब्द पनि बोल्न पाइँदैन थियो । समाजमा निकै त्रासको वातावरण थियो । कलेज पढ्नुअघि गीतप्रति आकर्षित थिएँ । काठमाडौं आएपछि २०३६ को जनमत संग्रहप्रति आकर्षित भएँ । साथीहरु पनि त्यस्तै चेतना भएकाहरु भेटिए । इञ्जिनियरिङ तेश्रो सेमेष्टर पढ्दै गर्दा पढाई बीचैमा छोडेर देशमा चलिरहेको जनआन्दोलनको रापतिर जोडिन पुगियो । त्यसपछि जीवनले अर्कै मोड लियो । आन्दोलनको वेगसँगै वेदना सांस्कृतिक परिवारसँग जोडिन पुगेपछि औपचारिकरुपमा जनतासँग जोडिन पुगेँ । पछि आन्दोलन सेलाउँदै गएपछि मुस्ताङ, धादिङ गएर पढाउन थालेँ । पुल्चोकको पढाई छुटेको लामो समयपछि फेरि काठमाडौं आएर अंग्रेजी र दर्शनशास्त्र पढाई शुरु गरेकै बखत हाम्रै केही साथीसँग भेट भएर रक्तिम सांस्कृतिक अभियान शुरु ग¥यौँ । फागुन १ गतेसम्म रक्तिममै आबद्ध भएर काम गरियो । अब एउटा रातो लालटिन साहित्यिक पत्रिका छ र यसैमार्फत साहित्य र गीतसंगीतको क्षेत्रमा सक्रिय रहनेछु ।
https://www.facebook.com/radiojanata89.1/videos/vb.1993513284274929/1257919661029845/?type=2&theater¬if_t=mention¬if_id=1550758574945283