काठमाडौं । सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा शुन्य समयमा बोल्दै सांसदहरुले घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राज नारायण पाठकलाई कारवाही हुन नसकेको, संघ अन्र्तगत निर्माण हुदै आएका सडक निर्माणको कामको जिम्मेवारी प्रदेशलाई दिए पनि ती सडक निर्माणको काम हुन नसकेको लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद डिला संग्रौला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राज नारायण पाठकले सार्वजनिक रुपमा घुस लिएको भिडियो ४ महिना अघि प्रधानमन्त्री कार्यालयमा पुगेको भन्दै अहिले सम्म किन कारवाही भएन भनी प्रश्न गर्नुभयो । सांसद दिव्यमणि राजभण्डारी पुर्व गोर्खा सैनिकहरुको समस्याका बारेमा छलफल गर्न वार्ता टोली गठन गरि बेलायत सरकारसंग छलफल गर्न माग गर्नुभयो ।
सांसद दुर्गा पौडेलले गुठी संस्थान अन्र्तगत भोगचलन गर्दै आएको जग्गालाई धितोको रुपमा लिन सक्ने गरि व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद देव प्रसाद गुरुङ तनहु लम्जुङ र मनाङमा का निर्माणाधिन सडक निर्माण कार्य अवरुद्ध भएको भन्दै तत्काल सुचारु गराउन माग गर्नुभयो । धर्मशिला चापागाईँले सबै सांसदलाई समान व्यवहार गर्दै सबै सांसदले खर्च गर्ने गरि बजेटको व्यवस्था गर्न माग गर्नुभयो ।
धु्रब कुमार शाहीले सुर्खेत जिल्लामा बर्षौदेखि भोगचलन गरिरहेकाहरुले जग्गा धनी पुर्जा नपाएको भन्दै सो को व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । नर बहादुर धामीले कंचनपुर जिल्लाका ७५ प्रतिशत जनताले जग्गा धनी पूर्जा नपाएको भन्दै तत्काल पूर्जा दिने व्यवस्था मिलाउन माग गर्नुभयो । पदम गिरीले निर्धारित समयमै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न माग गर्नुभयो ।
पुष्पा भुसाल गौतमले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा प्रमुख प्रतिपक्षी दलले स्वीकार गरेन भनेर भ्रम श्रृजना गरी निर्वाचन रोक्ने काम भईरहेको भन्दै निर्वाचन हुन नसक्नुको कारणबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो । प्रदीप यादवले नेपाल एयरलाइन्सको इन्जिन मर्मत र पार्टपूर्जाको टेण्डरमा १ अबए ५३ करोड रुपैयाको घोटाला भएको सार्वजनिक हुदा पनि त्यस तर्फ सम्बन्धीत मन्त्रालयको ध्यान नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो ‘नागरिक उड्डयनमन्त्री भाङ खाएर सुत्नुभएको छ कि शुभलाभ पाएर सुत्नुभएको छ । कि उहाँको ध्यान त्यसमा पुगिरहेको छैन ।’ सांसद बालकृष्ण खाँडले पुर्व गोर्खा सैनिकहरुको समस्या प्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।