काठमाडौं । खानेपानी मन्त्री विना मगरले पुन टेण्टर आव्हान गरेर भएपनि मेलम्चीको पानी काठमाडौं ल्याइने प्रतिवद्धता जनाउनुभएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा खानेपानी मन्त्रालयसंग सम्बन्धीत प्रश्नोत्तर कार्यक्रमम सहभागी हुदै उहाँले पुन टेण्टर आव्हान गरेर बाकी काम सम्पन्न गरी मेलम्चीको पानी काठमाडौं ल्याईने बताउनुभएको हो । सिएमसीले आयोजनाको कामबीचमै छोडेर हिँडेपछि केही अन्योल उत्पन्न भएको भएपनि पुन टेण्टर आव्हान गरेर काम सम्पन्न गर्ने तयारीमा मन्त्रालय लागेको बताउनुभएको हो । पुन टेण्टर गराउने सम्बन्धमा कामहरु भईरहेको पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँले मेलम्चीमा कसैको कुनै पनि गिद्दे नजर पर्न नदिने दाबा गर्नुभयो ।
आफुले मन्त्रालयको जिम्मेवार सम्हालेपछि मेलम्ची खानेपानी आयोजनाको मुलभुत र महत्वपुर्ण काम सम्पन्न भएको दाबी उहाँले गर्नुभयो । उहाँले मिडियाले नियोजित ढंगले आफ्ना विरुद्ध प्रचारवाजी गरेको भन्दै आक्रोश पोख्नुभयो । आफु आएपछि सिएम सि लाई मन्त्रालयबाट ८४ करोड १५ लाख रुपैया भुक्तानी भएको भन्दै उहाँले ‘मन्त्रीले एक अर्ब खायो’ भनेर मिडियाले प्रचारवाजी गरेको गुनासो गर्नुभयो ।
सचिवको सरुवा स्वभाविक भएको भन्दै उहाँले मेलम्चीलाई प्राथमिकतामा राखेर काम गर्न आफुले दिएको निर्देशन अनुसार सचिवले काम नगरेको दाबी गर्नुभयो । उहाँले सचिवले कमिशन मागेको विषयलाई आफुले आधिकारिक रुपमा कही पनि नउठाएको स्पष्ट पार्नुभयो । आयोजनाले विगारेका सडकहरु छिटो मर्मत गरिने आश्वासन पनि उहाले दिनुभयो ।
सांसद डिला संग्रौला पन्तले मेलम्ची खानेपानी आयोजनाद्धारा वितरित खानेपानी काठमाडौंबासीले कहिले पिउन पाउछन् भनी प्रश्न गर्नुभएको थियो । मन्त्रीको जवाफपछि सांसद पन्तले सीएमसी कम्पनी किन फर्कियो ? जिम्मेवारीबाट हटाइएका सचिवबाट के कुरा मिलेन ? भनी पुरक प्रश्न गर्नुभएको थियो ।
त्यसैगरी सांसदहरु राजेन्द्र कुमार केसी, महेश बस्नेत, गगन थापा, प्रेम सुवाल, बहादुर सिंह लामाले पनि मन्त्रीलाई पुरक प्रश्न गर्नुभएको थियो । सांसद थापाले सिएमसिका बारेमा तात्कालिन पर्यटन सचिव गजेन्द्र ठाकुर र मन्त्री मगरका मिडियामा आएका भनाई उदृत गर्दै सत्य तथ्य जानकारी गराउन माग गर्नुभएको थियो ।