हाम्रो दिमाग सामान्यतया दुई किसिमको हुन्छ । पहिलो हो सचेत मन (Conscious mind) र अर्को अवचेतन मन (subconscious mind) । सचेत मन र अवचेतन मन दुवै मिलेर जीवन चलाउँछ । जिन्दगीमा जे जति काम गर्छौँ वा गरिरहेका छौँ ती सबै सचेत मन र अवचेतन मनको नियन्त्रणमा हुन्छ । अतः हामीले यो भन्न सक्छौँ कि हाम्रो मन नै जिन्दगी चलाइरहेको छ । सचेत मन त ठीकै छ तर यो जुन अवचेतन मन छ, धरै अनौठो हुन्छ । जीवनका ९० प्रतिशत निर्णय आफैँ लिदैँनौा, अवचेतन मनले नै लिन्छ । मष्तिस्कको असली शक्ति अवचेतन मनभित्र लुकेको हुन्छ ।
[caption id="attachment_97330" align="alignright" width="132"]
–दीपा कर्ण[/caption]
एकैछिन ध्यान दिएर सोच्नुहोस्, के तपाईं धड्कन आफैँ चलाइराख्नु भएको छ ? होइन भने कसले चलाइराखेको छ ? औषतमा तपाईंको मुटु एक मिनेटमा ७० पटक धड्किन्छ तर को हो जसले यसलाई भेरिफाइ गर्छ ? को हो जसले यसलाई नियन्त्रित गर्छ ? अर्थात् हरेक मिनेटमा यति नै हर्टबिट गराउनु छ भनेर कसले यसमाथि ध्यान राखेको हुन्छ ? तपाईंको रक्तनलीमा जुन रगत बगिरहेको छ, त्यो पनि पूर्ण प्रवाहमा । यसलाई कसले कायम राख्छ ? पक्कै पनि तपाईंले गर्नुभएको छैन । तपाईंको शरीरको पूर्ण तापक्रम कसले कायम गर्छ ? जवाफ हो अवचेतन मनले । यो तपाईंको दिमागको केन्द्रीय कक्ष पनि हो । तपाईंको अवचेतन मन सचेत मन भन्दा धेरै शक्तिशाली छ । यसको क्षमता असीमित छ ।
बानीबेहोरा पनि अवचेतन मनसँग सम्बन्धित छ । जस्तैः सधैँ रातमा सुत्नु पहिले इन्टरनेट चलाउनु तपाईंको बानी हो भने यो बानी वास्तवमै तपाईंको अवचेतन मनमा संग्रहित छ । हाम्रो जीवनमा कतिपय यस्ता पाटो छन्, जुन हामीलाई थाहा छ कि गर्नु हुँदैन तर पनि हामी त्यही काम गर्छौँ । किनभने तपाईंको सचेत मनलाई त थाहा छ कि यो काम तपाईंले नगर्नुपर्ने हो तर जुन अवचेतन मन छ, त्यसलाई त यो कुरा थाहै हुँदैन । र, हाम्रो अवचेतन मन सचेत मन भन्दा बढी शक्तिशाली हुन्छ । त्यसैले हामीले नगर्नु पर्ने काम पनि गर्न तयार हुन्छौँ । अवचेतन मनभित्र यदि कुनै कुरा पसिसक्यो भने त्यसलाई वास्तविकतामा परिवर्तन हुनबाट कसैले रोक्न सक्दैन । कुनै कुरा तपाईंको सचेत मनबाट अवचेतन मनभित्र प्रवेश गरिसकेपछि चमत्कार हुन थाल्छ । यदि अवचेतन मनभित्र कुनैैैै कुराले स्थान पाइसकेको छ भने त्यसलाई वास्तविक बन्न कसैले रोक्न सक्दैन । जब तपाईंको अवचेतन मनमा कुनै कुरा आउँछ भने यसले यो छुट्याउन सक्दैन कि कुन कुरा सही छ र कुन गलत ? यसले जे निर्देशन पाउँछ, उसलाई वास्तविकतामा परिवर्तन गर्न शुरु गरिहाल्छ । त्यसैले यदि तपाईं आफ्नो अवचेतन मनसँग सम्पर्क गर्न सिकीसक्नु हुन्छ भने तपाईंलाई थाहा छैन कि तपाईं आफ्नो जीवनमा कति उचाइ हासिल गर्न सक्नुहुनेछ । आफ्ना सम्पूर्ण इच्छा तपाईंले अवचेतन मनको मदतले पूरा गर्न सक्नुहुनेछ ।
यदि तपाईं आफ्नो अवचेतन मनसँग अन्तरक्रिया गर्न चाहनुहुन्छ भने यसका लागि धेरै र विशेष प्रक्रियाहरु पनि छन् । जसमध्ये सबैभन्दा उत्कृष्ट प्रक्रिया हो दृढ वचन (Affirmation) । जब कुनै कुरा हामीलाई भनिन्छ भने त्यो कुरा सबभन्दा पहिला सचेत मनमा जान्छ र त्यतिबेला सचेत मनले निर्णय गर्छ कि यो कुरा हामीलाई अवचेतन मनमा पुर्याउनु छ कि छैन ? यदि त्यो खास कुरा तपाईंको सचेत मनलाई सही लाग्छ भने उसले हाम्रो अवचेतन मनभित्र त्यो कुरालाई पठाइदिन्छ । उदाहरणका लागि मानौँ तपाईंलाई कुनै पागल मान्छेले भनिदियो कि तँ जिन्दगीमा केही गर्न सक्दैनस् ! तपाईं त्यस्तो मान्छेको कुरामा ध्यान दिनु हुन्न । तपाईंलाई थाहा छ कि त्यो पागल हो । र, तपाईंको सचेत मनले पनि त्यसलाई वास्ता गर्दैन तर मानौँ तपाईंको शिक्षक जसलाई तपाईं धेरै सम्मान गर्नु हुन्छ । यदि उहाँले रिसमा तपाईंलाईं भन्नु भयो कि तँ जिन्दगीमा केही गर्न सक्दैनस् ! तपाईंको सचेत मनले त्यसलाई धेरै गम्भीरतापूर्वक लिन्छ । किनभने तपाईंलाई थाहा हुन्छ कि यो कुरा तपाईंको शिक्षकले भन्नुभएको छ । यदि शिक्षकले भनेको छ भने यसका पछाडि पक्कै केही ठोस कारण हुन्छन् । यही सोचका कारण तपाईंको सचेत मनलाई लाग्छ कि यो कुरा धेरै महत्वपूर्ण छ । र, यसले यो कुरा तपाईंको अवचेतन मनमा पठाइदिन्छ । यसले यो देख्दैन कि कुन कुरा सकारात्मक हो र कुन नकारात्मक । जे भए पनि यसले पठाइदिन्छ । त्यसैले जो कोहीले नकारात्मक सोच्छ र नकारात्मक वातावरणमा बस्छन् ।
त्यस्तो मान्छे कहिल्यै अगाडि बढ्न सक्दैन । तर वास्तवमा यो प्रक्रिया सकारात्मक कुरामा पनि लागु हुने गर्दछ । मानौँ कुनै विषय जस्तैः गणित तपाईंलाई धेरै गाह्रो लाग्छ भने तपाईंले पटकपटक भन्नु भयो कि गणित धेरै कठीन छ । यो सन्देश केही समयपछि अवचेतन मनमा पुग्छ । र, सजिलो प्रश्न तपाईंलाई एकदमै जटिल लाग्छ । तर त्यही प्रसंग तपाईं नकारात्मक सोच हटाएर सकारात्मक सोच्न शुरु गर्नुहुन्छ कि गणित सजिलो छ । यो कुरा पनि तपाईंको सचेत मनबाट अवचेतन मनमा पुग्दछ र तपाईंका लागि गणित सजिलो भइदिन्छ । तर समस्या होः धेरैजसो मान्छेसँग यसबारे जानकारी अभाव छ । उनीहरु सोच्छन् कि पटकपटक एउटै कुरा दोहोर्याउँदा कसरी सत्य हुुन्छ ? वास्तविकता के हो भने हामीले जे सोच्छौँ, हामीसँग त्यही क्रिया कार्यान्वयन भइरहन्छ । त्यसैले तपाईं सफल बन्न चाहनुहुन्छ भने सफल व्यक्तिको किताब पढ्नुहोस् । जीवनमा सधैँ सकारात्मक सोच राख्नुपर्छ । सकारात्मक सोच्नुहोस्, सफल बन्नुहोस् । यदि तपाईं सकारात्मक वातावरणमा बसेर सकारात्मक कुरा सोचेर सचेत मनभित्र राख्नु हुन्छ भने एक दिन अवश्य सचेत मनको पर्खाल तोडेर अवचेतन मनमा प्रवेश गर्दै जस्तोसुकै परिस्थिति पनि सामना गर्न सक्नुहुनेछ । आफ्नो अवचेतन मनको सही प्रयोग गरेर जीवन सार्थक बनाउने नबनाउने जिम्मा हरेक नागरिकमा भर पर्छ, पढेर–पढाएर हुने चैँ होइन ।
(दीपा, जनता टेलिभिजनमा मैथिली समाचार प्रस्तोता हुन्)