पुष्पराज अधिकारीहेटौंडा । प्रदेश नम्बर ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिुभवन विश्वविद्यालयको सहकार्यमा नेपालमा दुई वटा बैज्ञानिक सम्मेलन हुने भएको छ । सम्मेलनका लागि मन्त्रालय र त्रिभुवन विश्वविद्यालयका दुई विभागबीच हेटौँडामा शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
मन्त्रालयको लगानी र त्रिभुवन विश्वविद्यालय व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकाष्ट) र विश्वविद्यालयकै जल तथा मौसम विज्ञान विभागको समन्वयमा सम्मेलन हुने भएको छ । मन्त्रालयका सहसचिव रघुराम पराजुली, रिकाष्टका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर रामेश्वर अधिकारी र मौसम विज्ञान विभागका प्रमुख डाक्टर दिपक अर्यालबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
युवा वैज्ञानिकका आवश्यकता पहिचान र विकासमा बैज्ञानिक पद्धतिको सदुपयोगका लागि सम्मेलनको आयोजना गर्न लागेको प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले बतानुभयो । दक्षिण एसियाका युवा वैज्ञानिकहरुलाई नेपालका युवा वैज्ञानिकहरुसँग एउटै कार्यक्रममा सहभागी गराई विश्वमा विकसित विज्ञान तथा प्रविधि क्षेत्रका नविनतम ज्ञानहरुको बारेमा जानकार गराइनेछ ।विशेष गरी दक्षिण एशीयाली क्षेत्रमा विज्ञान तथा प्रविधिमा भए गरेका उपलब्धीहरुको अनुभव साटासाट गर्दै आइपरेको समस्याहरुलाइृ समाधान गर्दै सार्क क्षेत्रमा विज्ञान र प्रविधि क्षेत्रको विकासमा टेवा पुग्ने मुख्यमन्त्री पौडेलको भनाइ छ ।
काठमाडौंमा रिकाष्टले गर्ने देशभित्रको युवा बैज्ञानिक सम्मेलन बैशाख १० र ११ गते र मौसम विज्ञान विभागले गर्ने सार्कस्तरीय बैज्ञानिक सम्मेलन जेठ २२ र २३ गते हुने भएको छ । युवा बैज्ञानिक सम्मेलनमा देशभरका एक सय ५० र सार्कस्तरीय सम्मेलनमा विदेशी १५ जनासहित ५० जना बैज्ञानिकको सहभागिता रहने जनाइएको छ । सार्क सम्मेलनको खर्च ५० लाख हुनेछ भने राष्ट्रिय युवा सम्मेलनको खर्च ३० लाख हुने सम्झौता पत्रमा उल्लेख छ । कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि, मन्त्रालयका प्रतिनिधि, नीति तथा योजना अयाोगका प्रतिनिधि, प्रदेशसभा सदस्य लगायतको सहभागिता रहेको थियो ।