आमा,जब म घरबाट विदेश (खाडी) जान घरअगाडि चौतारीमा बस कुर्दै थिएँ तब छरछिमेकी (ओइ, त्यो र ऊ भन्दै बोलाएका थिए, नबोलाउन् पनि कसरी किनकी मसँगै) हरि काकाको छोरा गोरे आएल्स गरेर अस्ट्रेलिया जाँदै थियो । म सकिनसकी १२ सक्न नपाउदै खाडी जाँदै थिएँ । ऊ परिवारको साथ (खादा, माला र अबिरजात्रा गरेर) ट्याक्सी चढ्दै थियो । म मलिन अनुहारमा केही गेडा चामलको टीका लगाएर एक्लै निस्किएको थिएँ । केबल थियो त मसँग एउटा तीनपटक सिलाएर जोडेको कालो झोला । हुन त आमा तपाईंले म पनि तिमीलाई जहाज चढाउने ठाउँसम्म जान्छु भन्नू भएको थियो तर निष्टुरी साहु आएर भोलि बिहानै रोपाइँ छ सबेरै आइज भन्दा तपाईंले म छोरालाई बिदाई गरेर अलि अबेर आउछु भन्दा कम्ता हप्कीदप्की गरेको थियो त्यो साहु भनौदोले । आँखाभरि आँसु र बाध्यता लुकाएर बाबु राम्रोसँग जानू, आफ्नो स्वास्थ्यको ख्याल राख्नु, पुगेपछि एककल गर्नु है भन्दै भक्कानिएर च्यातिएको मजेत्रोले पोखिएको आफ्नो ममता पुछ्दै साहुको मेला जानु भएको थियो ।
हिँड्ने बेला तपाईंको मुख हेर्न नपाए पनि शिरमा आशीर्वाद र मनमा ममता लिएर घरबाट निस्केको थिएँ । साउन महिना सिमसिम परिरहेको पानी सायद मेरै बिलौनामा झरिरहेको जस्तो लाग्थ्यो । विस्तारै बिदाईको हात हल्लाउँदै हर्न बजाउँदै आइरहेको गाडी नजिक पुगेर चढ्न खोजेँ, ओइ दाइ पछाडि गएर बस्नु, अगाडि नबस्नु अरु पनि चढ्छन् भन्दै खलासी भाइको रुखो बचनले अलिकति मन कुँडिएको थियो । सायद पल्लो गाउँको भाइले म खाडी जाँदैछु भन्ने थाहा पाएछ क्यारे....
मनमा अनेकौँ कौतुहलता, कल्पना र सपना बुन्दै थिएँ, कलङ्की आयो झर्नुस भन्दा झसङ्ग भएँ, काठमाडौं आइपुगेछु । एकरात होटेल बासपछि एकाबिहानै मेनपावर हुँइकिएँ । जब मेनपावर पुगेँ तब लाग्यो कि म कुनै देशमा बेचिन आइपुगेको छु । मेरा केही जिज्ञासामा मेनेजर केही सुने नसुने झैँ गरिरहेको थियो । अघिल्लो दिनसम्म एक नारायणजी, सर, हजुर गर्ने मेनेजर बैंकबाट पठाएको एक लाख ५० हजार रुपैयाँले बहिरो भएको थियो । उसको अस्वाभाविक व्यवहारले मन नदुखेको कहाँ हो र तर परिवारको खुसी र सुखद भविष्यको सपना बुनेर बेचिन तयार भएको म उसले हातमा थमाइदिएको पासपोर्ट र हवाई टिकट लिएर एयरपोर्ट पुगेँ ।
चोरी औँलाले इसारा गर्दै ओ भाइ कुन देश जाने हौ भन्दै कर्मचारीको रुखो आवाजले मन अझै कुडिँदै र हेपिएको महसुस गर्दै थिएँ । भनेँ, ‘सर साउदी जान लागेको ।’ त्यसो भए जा उता गएर बस लाइनमा । गोरा छाला, खादा र अबिरजात्रा गर्ने मानिसलाई मात्र सम्मान गर्ने बानी परेका उनीहरुलाई हामीजस्ता निरीह मानिस कुनै प्राणी नै लागेन होला । मनमा आक्रोशको ज्वालामुखी दन्के पनि सरकारले निःशुल्क भनेको भिसामा मेनपावरलाई बुझाएको एक लाख ५० हजार रुपैयाँ र आमाको फाटेको मजेत्रोले सम्हालिन बाध्य भएँ । करिब ५(६ घण्टा यात्रापछि साउदीको एयरपोर्ट ओर्लिएँ । १०–११ घण्टा पट्यारलाग्दो बसाईपछि बल्लबल्ल कम्पनीको मानिस लिन आयो ।
भोलिपल्ट अफिस गएँ । कामबारे जानकारी गराइयो । यदि तलमाथि, भनेको नमाने पुलिस बोलाएर जेल हालिदिन्छु अनि नेपाल फर्काइदिन्छु झन्दै झपारेको झलझली सम्झिरहेको छु आमा । कामको दौरान कति हेपिए दबिए कति दुव्र्यवहारमा परे यहाँ लेखिसाध्य छैन । कुनै दिन तपाईंको काखमा लुटुपुटु हुँदै पोख्नेछु । गाडी चढ्दादेखि खलासी भाइ, मेनपावरको मान्छे र एयरपोर्टको कर्मचारीको रुखो र हेपाह व्यवहारले आफ्नै देशमा त हामी दोस्रो दर्जाको अशिक्षित मानिस भयौँ भने झन विदेशमा हाम्रो सम्मान कसले पो गर्ला आमा ? रगत पसिना बगाएर ५०–५५ डिग्रीको घाम र मरुभूमिमा भेडा चराउने मजस्तै हजारौँ दाजुभाइ आफ्नै देशको एयरपोर्टमा लुटिदैछन रे । तिरस्कार हुँदैछन रे । दोस्रो दर्जाका मानिस भएका छन रे । गोरा छाला र टाइसुटलाई सलाम गर्ने बानी परेका हाम्रा कर्मचारी दाजुभाइलाई मात्रै खै के दोष दिनु र ? तिनै युवाले खाडीमा पसिना बगाएर पठाएको पैसाले धानिएको (अर्थतन्त्र र त्यही अर्थलाई दोहन गर्ने) हाम्रा नेतृत्वले हामीलाई लुट्न झिटिगुन्टा ऐनलाई कडाइ गरेका छ रे । आउँदा रुँदै र फर्कदा रुवाउँदै जानु पर्ने बाध्यताको अन्त्य कहिले होला आमा ? रुखो बोली, हेपाहा व्यवहार र चोरीका अनेकौँ घटनामा सम्बन्धित निकायका जिम्मेवार मानिस मौन छन रे । त्यही खाडीका युवाले पठाएको पैसाले गरिबको चुलो बलेको छ । खरको छानो फेरिएको छ । तपाईंजस्ता धेरै आमाको सारी फेरिएको छ ।
घरमा सानो टिभी र हातमा एउटा मोबाइल पुगेको छ । बिरामी हुँदा केही औषधि उपचार पाइएको छ । एनसेललाई खर्बौँको कर मिनाह गर्ने सरकार, वाइडबडीमा अर्बौँको घोटाला गर्नेमाथि सुनपानी छर्किने सरकार, टेलिकमले फोरजीमा गरेको करोडौँ भष्टाचार नदेख्ने सरकार विदेशिएका कामदारले ल्याएको २ वटा मोबाइल र १५ थान कपडामा कर उठाएर राज्य चलाउने सपना देख्छ रे ! विनातयारी र पूर्वाधार खुलेका नगरपालिका र महानगरपालिकाका करका दोहोरोतेहोरो पसल चलेका छन् । नत्र देश उहिल्यै भेनेजुयला र इथोपिया हुने थियो, भोकमरी र दंगा फैलिएर । तर आमा यो वास्तविकता कसले पो बुझिदिने ? कसले पो सुनिदिने ? खादा र माला पहिरिएर सँगै विदेश हिँडेको (गोरे) झैँ पुर्ख्यौली सम्पत्ति बेचेर उतै पलायन हुन सकिएन आमा । उतै पलायन हुन सकिएन आमा !