दैलेख । दुल्लु क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १ सय हेक्टरमा सुन्तला बगैँचा बनाउने भएको छ । परियोजनाको कार्यान्वयन एकाइ सुन्तला जात फलफूल जोनले आगामी आर्थिक वर्षमा दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका बगैँचा बनाउन लागेको हो ।
बगैँचाको व्यवस्थापन, मलखाद, सुन्तलाको बोट काँटछाँट, सिँचाइ, प्रशोधनलगायत तालीम सञ्चालनका साथै पोष्ट हार्भेट सेन्टर र कस्टमर हेयरिङ सेन्टर स्थापना, भकारो सुधार, साना सिँचाइ, बीमा व्यवस्थापनलगायत योजना तर्जुमा गरिएको एकाइ प्रमुख राजु भुजले बताउनुभयो ।
‘कृषकको लापरबाही र आवश्यक प्राविधिक ज्ञानको अभावका कारण सुन्तला खेतीमा केही समस्या देखापरेका थिए’, उहाँले भन्नुभयो, ‘दुल्लु नगर र भैरवी गाउँपालिकामा सुन्तलाखेती व्यवस्थित गर्नका लागि हामीले अहिले बगैँचामै गएर तालीम दिएका छौँ ।’ गत वर्ष कृषकलाई दिइएका औजारसमेत हराएको बताउँदै प्रमुख भुजले सुन्तलाको बोटमा आवश्यक मल र सिँचाइ अभावले बोट मर्ने गरेको बताउनुभयो ।
आगामी वर्षदेखि प्रत्येक कृषकको घरघरमा सिँचाइका लागि पोखरी निर्माण गर्ने र यो वर्ष बोटमा देखापरेको समस्या न्यूनीकरण गर्न अहिलेसम्म ३ सय भन्दाबढी कृषकलाई विषादी औषधि वितरण गरिएको जानकारी दिँदै उहाँले परियोजनालाई सफल बनाउन ५० प्रतिशत लगानी कृषक र बाँकी ५० प्रतिशत परियोजनाको रहेको एकाइ प्रमुख भुजले जानकारी दिनुभयो ।
कृषकले गतवर्ष ६ सय ५० हेक्टरमा सुन्तलाखेती गरेका थिए । त्यसबाट करिब ५ करोड रुपैयाँ बराबरको उत्पादन भएको थियो । यसअघि दुल्लु नगरका १३ वटै वडा र भैरवी गाउँपालिकाका ३ देखि ७ वडासम्म सञ्चालित कार्यक्रम चालू आवदेखि भैरवी गाउँपालिकाका दुई वडासमेतलाई समेटिएकोे छ । परियोजनाले सुन्तलाखेती गर्ने किसानलाई कम्पोष्टमल मात्रै प्रयोग गर्न आग्रह गरेको छ ।