काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरेले भ्रष्टाचारी कसैले पनि उन्मुक्ति पाउनुहुन्न भन्ने अभिप्रायका साथ आयोगले काम गरिरहेको बताउनुभएको छ ।
संघीय ससद राष्ट्रियसभा अन्र्तगतको दीगो विकास तथा सुशासन समितिको आईतबार बसेको बैठकमा प्रमुख आयुक्त घिमिरेले यस्तो बताउनुभएको हो । समिति सदस्यहरुले आयोगकै पदाधिकारी भ्रष्टाचारमा संलग्न भएको भन्दै आयोगका कामकारवाही बारे प्रश्न उठाएपछि प्रमुख आयुक्त घिमिरेले नाम नलिईकनै पछिल्लो घटनाबारे आयोगले छानविन सुरु गरिसकेको जानकारी गराउनुभयो । उहाँले वरिष्ठ सचिवको संयोजकत्वमा गठित समितिले अनुसन्धान सुरु गरिसकेकाले छिटै त्यसबारेका सत्य तथ्य सार्वजनिक गरिने विश्वास दिलाउनुभयो ।
आयोग भित्रका क्रियाकलापलाई निगरानी गर्ने सन्र्दभमा प्रमुख आयुक्तको प्रत्यक्ष नियन्त्रणमा १५ जनाको ‘इन्टलीजेन्स यूनिट ’स्थापना भएको भन्दै उहाँले केही आयोगका कर्मचारीहरु सो यूनिटको अनुसन्धानभित्र रहेको जानकारी दिनुभयो । प्रमुख आयुक्त घिमिरेले वाईड वडी विमान खरिद प्रकरणबारे सह सचिवको संयोजकत्वको समितिले छानविन गरि बयान लिने काम गरिरहेको जानकारी गराउनुभयो । त्यसैगरी सार्वजनिक जनसरोकारका संस्थामा हुने गरेका आर्थिक अनियमितता नियन्त्रणका लागि आयोगका अधिकारी नै सेवाग्राही बनेर जाने योजना अनुसार कार्यविधि तयार भईसकेको भन्दै उहाँले छिटै नै सो अभियान सुरु गरिने बताउनुभयो । आयोग एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने भन्दै उहाँले नागरिक समाज, संचार माध्यम ,राज्यका अन्य संयन्त्र र आयोगको एकिकृत र समन्वयात्मक प्रयास हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नागरिक निगरानी समूह गठन गरि केही जिल्लामा कार्यक्रम सुरु भईसकेको भन्दै सो कार्यक्रमको प्रभावकारिता हेरेर त्यसलाई परिमार्जन र विस्तार गर्दै लगिने बताउनुभयो ।
उहाँले सिमित क्षेत्राधिकारमा रहेर पनि आयोगले सरकारबाट संञ्चालित ठेक्काहरुमा भएको अनियमिततालाई अध्ययन गरिरहेको फेयरिस्त प्रस्तुत गर्दै सडक विभाग, सहरी विकाश र भवन निर्माण, नागरिक उड्डयन प्राधिकरण, स्थानीय पूर्वाधार विकास लगायतका १ हजार बढी ठेक्काको समय थप नभएको स्पष्ट पार्नुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन तथा भ्रष्टाचार निवारण ऐन संशोधनको प्रस्ताव मन्त्रीपरिषद्मा रहेको भन्दै उहाँले त्यसलाई यथासक्य छिटो पूर्णता दिन सरकार र समितिको ध्यानाकर्षण पनि गराउनुभयो ।
समिति सदस्यहरुले आयोगका पदाधिकारी नै भ्रष्टाचारमा संलग्न भएको भन्दै आयोगको काम कारवाहीबारे प्रश्न उठाएका थिए । त्यसैगरी वाईडवडी विमान खरिदमा भएको भ्रष्टाचार,जनसरोकारका सार्वजनिक संस्थानमा हुने आर्थिक अनियमितता लगायतमा आयोगको कामकारवाही बारे जिज्ञासा राखेका थिए । आयोगका आयुक्त राजनारायण पाठक नै घुस काण्डमा संलग्न भएको समाचार सार्वजनिक भएपछि समितिले प्रमुख आयुक्तलाई बैठकमा बोलाएको हो ।