तनहुँ । सदरमुकाम दमौली नजिकै रहेको मानहुँकोट पर्यटकको लागि आकर्षण स्थल बन्न थालेको छ । गाउँमा मोटर बाटो पुगेपछि मानहुँकोट पर्यटकको रोजाईमा परेको हो । मानहुँकोट पुग्ने हिँड्नुपर्दैन । सवारीसाधनबाट २५, ३० मिनेटमै पुगिन्छ । मोटरबाट एक किलोमिटर कालोपत्र भइसकेको छ । बाँकी सडक पनि कालोपत्रे गर्ने तयारी भइरहेको छ ।
आर्थिक वर्ष २०७५÷७६ मा अलैचेबाट मानहुँकोटसम्म नै सडक कालोपत्र गर्ने तयारी भइरहेको छ । केन्द्र सरकारको १० करोड बजेटबाट सडक कालोपत्र गर्न बाटो निर्माणको काम थालिएको हो ।
मानहुँकोटबाट दमौली बजार छर्लङ्ग देखिन्छ । यसले गर्दा पछिल्लो समयमा यहाँ पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । मानहुँकोटमा अन्य दिनभन्दा शनिबार र सार्वजनिक बिदाको दिन अत्यधिक भीड हुने गरेको छ । दमौली बजार र हिम शृङ्खला लगायतका मनमोहक दृश्य हेर्न बिदाको दिन आफू सधै आउने गरेको व्यास नगरपालिका–१ का शैलेश हड्खले बताउनुभयो ।‘मानहुँकोट दृश्यावलोकनका लागि निकै मनमोहक छ’ उहाँले भन्ुभयो, ‘दमौली बजार आसपासका क्षेत्र कुहिरोले घेरेको हेर्दा निकै आनन्द लाग्छ ।’
जाडो मौसममा न्यानो घाम र बिहान सूर्योदय र बेलुकाको अस्ताउँदो सूर्य नजीकबाट नियाल्न पाउँदा आनन्द लाग्ने बताउनुहुन्छ रिसिङ गाउँपालिका–१ की बसन्ती आले । उहाँका अनुसार मानहुँकोटबाट देखिने हिमाल तथा समथर फाँट, नदीनालाले निकै मनमोहक बनाउँछ ।
विशेष गरेर आन्तरिक पर्यटकको रोजाइको केन्द्रको रुपमा विकास हुँदै गएको मानहुँकोट तनहुँको पर्यटकीय सम्भावना बोकेको पर्यटकीय स्थल समेत रहेको बताउनुहुन्छ व्यास नगरपालिका वडा नम्बर ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठ । दृश्यावलोकनको लागि महत्वपूर्ण गन्तव्यको रुपमा रहेको मानहुँकोटको प्रचारप्रसार हुन सकेकै कारण यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको श्रेष्ठले बताउनुभयो ।
व्यास नगरपालिका–५ र म्याग्दे गाउँपालिका–१ लाई समेटेको यो मगर समुदायको बसोबास रहेको क्षेत्र हो । मगर समु्दायको संस्कृति यो ठाउँको अर्को आकर्षण हो ।
मानहुँकोटबाट माछापुच्छे«, अन्नपूर्ण लगायतका हिमशृङ्खला साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु देख्न सकिन्छ । मानहुँकोट प्राकृतिक सुन्दरताले धनी भएपनि पर्याप्त पूर्वाधार निर्माण नहुँदा अझै सोचे जति विकास हुन नसकेको बताउनुहुन्छ स्थानीय गोपीराम थापा ।
मानहुँकोटको प्रचारप्रसारका लागि चण्डीपूर्णिमाको अवसरमा कौराहा उत्सव गर्ने गरिएको छ । समुद्री तहदेखि एक हजार एक सय मिटर उचाइमा रहेको मानहुँकोटमा शनिबार र विदाको दिनमा ५ सय भन्दा बढी पर्यटक पुग्ने गरेका छन् ।
मानहुँकोटको विकासका लागि व्यास नगरपालिकाले पूर्वाधार निर्माणमा समेत ध्यान दिएको छ । नगरपालिकाले मानहुँकोटको गुरुयोजना निर्माण गरी यसको विकासका लागि काम थालेको बताउनुहुन्छ नगर प्रमुख बैकुण्ठ न्यौपाने । उहाँका अनुसार मानहुँकोटको पर्यटन प्रवद्र्धनका लागि भ्युटावर बनाउने तयारी गरिएको छ । यसका लागि नगरपालिकाले ३० लाख बजेट समेत विनियोजन गरिसकेको छ ।
भ्युटावर बनेपछि यहाँबाट मादी र सेती नदीमा बनाइने ड्याम, विभिन्न हिमशृङ्खला, तनहुँ, कास्की, नवलपरासी, गोरखा लगायतका जिल्लाका मनोरम दृश्यको साथै फाँटहरू सजिलै देख्न सकिन्छ । नगरपालिकाले मानहुँकोटमा केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययनसमेत थालेको छ ।