काठमाडौं । सात प्रधानन्यायधीशको गुण दोष केलाएको पुस्तक ‘अदालत भित्र अदालत बाहिर’ बजारमा आएको छ ।
सर्वाेच्च अदालतका पुर्व रजिष्टार डा. रामकृष्ण तिमल्सेनाद्वारा लिखित पुस्तकका चार प्रधानन्यायाधिश मञ्चमै थिए । पूर्व प्रधान न्यायाधिश मीनबहादुर रायमाझीले आफूलाई यो पुस्तकमा मिलाइ मिलाइ उचालिएको मिलाइ मिलाइ झारिएको बताउनुभयो । अर्का प्रधानन्यायाधीश रामकुमार प्रसाद शाहले किताब लेख्नु हिम्मत हो, वायोग्राफी लेख्नु झन हिम्मत हो भन्दै आफूले त्यो पुस्तक पढेपछि आफ्नो गुण दोष थाहा पाएको बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि पूर्व प्रधान न्यायाधीश अनुपराज शर्माले डा. रामकृष्ण तिमल्सेना एक चलाख र इमान्दार मान्छे भएकाले उनले लेखेको कतिपय कुरामा सत्यता पाएको बताउनुभयो । सात जना प्रधानन्यायाधीशका गुण दोष केलाइएको यो पुस्तक पाचकजस्तो छ । कहि अमिलो छ, कही नुनिलो छ, कही गुलियो छ । कार्यक्रमका अर्का विशेष अतिथि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानुनी राज्य र साहित्यमा यो निकै राम्रो पुस्तक बनेको भन्दै आफूलाई पनि यो पुस्तकले मिलाइ मिलाई उचाल्ने र पछार्ने काम गरेको बताउनुभयो । प्रख्यात उद्यमी डा. उपेन्द्र महतोले शुभकामना मन्तव्य व्यक्त गर्दै भन्नुभयो ‘प्रत्येक मान्छेभित्र मनको अदालत हुन्छ । मनको न्यायाधीश हुन्छ, त्यसलाई सोध्यो भने कुनै अदालतको आवश्यकता पर्दैन । तैपनि अदालत भित्र अदालत बाहिर पुस्तकले धेरै भित्री कुरा बाहिर ल्याएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले यो किताबमा भोगाइ र दर्शनका कुरा पाएको बताउनुभयो । उहाँले मेरो रोजाइमा पर्ने न्याय क्षेत्रको पुस्तक बनेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
समीक्षक पत्रकार महासंघका पूर्व सभापति नारानाथ दाहालले किताबले न्याय क्षेत्रमा सक्षम मान्छे्हर कसरी किनारा लाग्छन् भन्ने सजिलैसँग देखाएको बताउनुभयो । उहाँले अनुभूति केलाएको यो पुस्तकले न्याय क्षेत्रका धेरै प्रश्नहरु उठाएको बताउनुभयो । अर्का समीक्षक पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधरले पुस्तकले अहंकारबाद लाई त्याग्दै तत्वज्ञानका धेरै कुराहरु बाहिर ल्याएको बताउनुभयो । घोस्ट राइटिङ नेपाललका अध्यक्ष कमल ढकालले मान्छेलाई पुस्तकको रुपमा बदल्ने अभियानको पछिल्लो कडी यही पुस्तक भएको बताउनुभयो ।
लेखक डा. रामकृष्ण तिमल्सेनाले आफूले किताब लेखनमा इमान्दारिता प्रकट गरेको भन्दै साँच्चै सत्य कुरा लेखे दुर्घटना हुने लागेर थाहा पाएको जम्माजम्मी ५० प्रतिशत मात्र यो पुस्तकमा ल्याएको बताउनुभयो ।
पुस्तकमा माथिका चार पुर्व प्रधानन्यायाधीश बाहेक विश्वनाथ, उपाध्याय, खिलराज रेग्मी र रामकुमार श्रेष्ठका गुण र दोष केलाइएका छन् । पुस्तक घोस्ट राइटिङ नेपालले प्रकाशित गरेको हो ।