भूमिराज पराजुलीदमक । ५ वर्ष अघिको दमक र अहिलेको दमकमा भएको परिवर्तनको प्रमुख श्रेय यूवराज दाहाललाई नै जान्छ । बुधबार ताप्लेजुङस्थित फुङलिङ नगरपालिका–१० सिस्नेभीर नजिक भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव तथा दमक नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत दाहालले दमक विकासका लागि अतुलनीय भूमिका निर्वाह गरेको दमक बासीको भनाइ छ ।
नेपाली कांग्रेस झापा क्षेत्र नं ७ का क्षेत्रीय सभापति ढुंडीराज भण्डारी दाहालले नै आफूहरुलाई विकास कसरी गर्ने भन्नेबारे सिकाएको बताउँछन् । स्व. दाहाल दमकमा आएर अधिकृतको भूमिका निर्वाह गरेका बेला नगर संयन्त्र समितिमा रहेका दलका प्रतिनिधिलाई मिलाएर लैजान सक्ने क्षमता र नगरको विकासका लागि दल भन्दा माथि रहेर काम गर्नु भन्ने शिक्षा उनैले दिएको सभापति भण्डारीले बताउनुभयो ।
दमकमा अहिले विभिन्न राष्ट्र गौरवका योजनाहरु सञ्चालनमा छन् । दमक औद्योगिक पार्क, दमकमा विश्वकै सबैभन्दा ठुलो बुद्धको मुर्ती, दमक भ्यू टावर, दमकसभा हलसहित अन्य अर्बौका योजनाहरु यहाँ सञ्चालित छन् । तर यी सबै योजनाहरु दमकका दाहाल नहुनु भएकोभए असम्भव नै रहेको बिश्लेषण गर्छन नेकपाका स्थानीय नेता शंखर बस्नेत । बस्नेत भन्छन्, ‘दमकमा यूवराज नआएको भए दमकबासीले विकास के हो ? योजना के हो ? भन्ने कुराको अनुभुति यति चाँडै देख्न सक्दैन थिए ।’
दमक नगरपालिकामा जनप्रतिनधि आएको करिब १९ महिना भयो । अहिले यहाँका जनप्रतिनीधिले जुन योजना अनुसार काम गरिरहेका छन् अधिकांश योजना स्व. दाहालले नै बनाएका हुन् । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली पनि यो कुरामा सहमत छन् । आफू जनप्रतिधि भएर आउनुपूर्व पनि उहाँको काम र योजना देखेर हामी पनि छक्क पथ्र्यौ । ओलीले भन्न्ुभयो, ‘त्यसबेलाका कतिपय योजनाहरु अहिले पनि सञ्चालनभै रहेका छन् । हामी त्यसैमा काम पनि गरिरहेका छौं ।’
विकास प्रेमी तथा विकासको खाका कोर्न र त्यसको कार्यान्वयन गराउन क्षमता राख्ने स्व. दाहाल प्रधनमन्त्री केपी शर्मा ओलीका विश्वसिला पात्र समेत रहेको बताइन्छ । उहाँ जुन कार्यक्षेत्रमा पुग्नुहुन्थ्यो त्यस ठाउँको विकासले फरक मुहार फेर्ने गरेको थियो ।