‘दुखीहरुका देवता’, ‘मान्छे हुनु त यस्तो !’, ‘उहाँलाई सम्मान गर्ने जतिले लाइक र सेयर गर्नुहोस्, ‘त्यसरी घुम्न जानु भन्दा त बरु फलानोले जस्तै समाजसेवा गर्नु नि !’, जस्ता पोस्टहरु सामाजिक संजालमा देखिनु अहिले सामान्य भइसकेको छ । फेसबुकमा त हरेक पटक न्युज फिड रिफ्रेस गर्दा एउटा न एउटा यस्तो पोस्ट भेटिन्छन् नै ।
सामाजिक संजालको त्यो अवस्था हेर्दा लाग्छ, हामीले दुई कित्तामा मानिसको वर्गीकरण गरेका छौं । एउटा भगवान र अर्को राक्षस । साधारण व्यक्ति त हामीले यो संसारमा हुन्छ भन्ने नै बिर्सिसकेका छौं । हामीले साधारण व्यक्तिको अस्तित्वलाई स्विकार्न नै छोडिसकेका छौं । कोही व्यक्ति भगवान बन्ने दौडमा छ, कोही उसलाई भगवान प्रमाणित गर्ने दौडमा छ । कोही कसैलाई भगवान बनाएर भजन गाउँदैछौं त कोही अर्को व्यक्तिलाई भगवानको रुपमा उभ्याएर अलग धर्मको वकालत गरे जसरि आफूले भगवान मानेको व्यक्तिले अरुले भगवान मानेको व्यक्तिको तुलनामा बलियो देखाउनमा प्रतिस्पर्धा गरिरहेका छौं ।
प्रतिस्पर्धा यहाँ भगवान बनाउनमा मात्र होइन, राक्षस सावित गर्नमा छ । अचम्म त के भने, केही दिन हामीले जसलाई भगवान बनाएर आफ्नो सामाजिक संजालको भित्तामा भजन गाइरहेका हुन्छौं, उसैलाई केही दिन पछि राक्षस बनाएर सामाजिक संजालको भित्तोमा फेरी मूर्दावादको नारा लगाइरहेका हुन्छौं, ऊ सखाप होस् भन्ने कामना गरिरहेका हुन्छौं । र, यो क्रम निरन्तर चलिरहन्छ । भगवानहरु फेरीइरहन्छन् , राक्षसहरु नयाँ नयाँ रुप लिएर आइरहन्छन् । भजन र मूर्दावादका नाराहरु जपीइरहन्छन् ।हरेक व्यक्तिमा केही गुण र केही अवगुण हुन्छन् । गल्ती हरेक व्यक्तिले गर्छ । हरेक व्यक्तिमा केही राम्रोपन र केही नराम्रोपन हुन्छ । तर अहिलेको अवस्थामा हामी त्यस्तो व्यक्तिको अस्तित्व स्विकार्न नै तयार छैनौं । हामीलाई लाग्छ भगवानले कहिल्यै गल्ती नै गर्दैन अनि राक्षसले कुनै राम्रो र विश्वासयोग्य कुरा नै गरेको हुँदैन । हामीलाई आफ्नो भविष्य कस्तो हुनेछ भन्ने थाहा हुँदैन, हाम्रो गन्तव्य के हो भन्ने थाहा हुँदैन तर हामी अरु व्यक्तिको भविष्यवाणी गरिसक्छौं । कोही व्यक्तिले पनि म सधै सही गर्नेछु, म गल्ती नै गर्नेछैन भनेर ’ग्यारेन्टी’ दिन सक्दैन । तर अहिले हामी त्यो व्यक्तिले गल्ती नै गर्दैन भनेर ग्यारेन्टी दिन भ्याउँछौं । भगवानले केही गल्ती गर्यो नै भनेपनि फेरी उसलाई राक्षसमा परिणत गर्ने या भगवानकै उपाधि दिने भन्नेमा हामी एक आपसमा लड्न थाल्छौं ।
भगवान र राक्षसको यो प्रतिस्पर्धामा हामीले आफ्नो रचनात्मक सोंचको दुरुपयोग, हाम्रो आफ्नो समयको बर्बादी त गरिरहेका छौं नै, स्वयम् भगवान र राक्षस बनाइएका व्यक्तिहरुको जीवन पनि अप्ठ्यारोमा पारिदिएका छौं । हरेक व्यक्तिको आफ्नो विगत हुन्छ, जुन उसले आफू भित्र दबाएर राखेको हुन्छ । हरेक व्यक्तिको अनिश्चित भविष्य हुन्छ, जसलाई ऊ स्वयम्ले पनि स्पष्ट देख्न सकिरहेको हुँदैन । हरेक व्यक्तिले गल्ती गरिरहेको हुन्छ, जसलाई उसले त्यसबाट पाठ सिकेर अगाडी बढ्ने प्रयास गरिरहेको हुन्छ । भगवान बनाइएको व्यक्तिमा सधै भगवानको आफ्नो परिचय सन्तुलनमा रहोस् भन्ने डर हुन्छ भने आफूमा मैले जे गर्दा पनि हुन्छ या म भगवान हूँ भन्ने दम्भ बढिरहेको हुन्छ । उसमा आफ्नो विगत बाहिर नआओस्, गल्ती बाहिर नदेखीयोस् भन्ने डर हुन्छ । अर्कोतर्फ, सेलिब्रेटी र भगवानको जीवन बाँच्दा बाँच्दै ऊ आफ्नो व्यक्तिगत जीवन खुलेर जिउन पाउँदैन । आफ्नो परिचय एक झिल्कोमै राक्षसमा परिणत नहोस् भनेर ऊ टाउकोमा एउटा दबाब बोकेर बाँचिरहेको हुन्छ । गल्तीहरुलाई ढाकछोप गर्ने तनावमा हिंडेको हुन्छ ।
आफ्नो व्यक्तिगत जीवन, आफ्नो तनावमा रहेर पनि सामाजिक कार्यमा जुट्नु सह्रानीय काम हो । आफ्नो दुःखलाई, संघर्षलाई हिम्मतमा बदलेर जीवन अगाडी बढाउनु प्रेरणादायी कुरा हो । यी सबै किसिमका व्यक्तिलाई सम्मान गरिनुपर्छ, उनीहरुको प्रशंसा गरिनुपर्छ र उनीहरुबाट प्रेरणा लिनुपर्छ । उसले गरिरहेका राम्रा काममा साथ पनि दिनुपर्छ । तर संगसंगै ऊ कोही भगवान या राक्षस हो भनेर उसको मानवीय अस्तित्वलाई नै धरापमा पारिनु हुँदैन । यसले उक्त व्यक्ति या उसका वरिपरिका व्यक्तिलाई मात्र होइन, समाज र अब आउने पुस्तालाई पनि असर गर्छ । त्यसैले उसका कामको विश्लेषण गरिनुपर्छ र, भगवान बनेको व्यक्तिले पनि आफ्नो गल्तीलाई स्वीकार गर्ने हिम्मत गर्नुपर्छ । त्यसले समाजमा कुनै नकारात्मक असर नपरोस् भन्नको लागि सचेत हुनुपर्छ ।
समाज परिवर्तनको लागि भाइरल हुनु पर्दैन, आफ्नो लुगा किन्ने पैसा अरुलाई दिनु पर्दैन, सकारात्मक सोंच राखेर आफ्नो जीवन जिउने तथा आफ्नो तर्फबाट आफ्ना जिम्मेवारी र कर्तव्य मात्र निभाउँदा पनि हुन्छ । जब कसैले आफ्नो जिम्मेवारी तथा कर्तव्य निभाउँदैन, तब अर्को व्यक्ति पीडित बन्छ र त्यही पीडित व्यक्तिको लागि न्याय दिलाउन हामीले भगवानहरु खोज्न थाल्छौं । यदि व्यक्ति आम्दानिको लागि आफू कुनै पनि काममा नलागी अरुको व्यक्तिको सहयोगको लागि भन्दै हिंड्छ भने त्यो सहयोग कत्तिको दिर्घकालिन रहला ? उसका आधारभूत आवश्यकताहरु कसरि पूरा हुन्छन् ? ती आधारभूत आवश्यकताहरु पूरा गर्न उसले गलत बाटो अपनाउन थाल्यो भने ? यही अवस्थामा एउटा भगवान फेरी राक्षसको नामले चिनिन थाल्छ ।
अर्को कुरा, समाज सेवा स्वेच्छाले गर्नेकुरा हो, कसैको प्रत्यक्ष या अप्रत्यक्ष दबाबले या कसैलाई देखाउनको लागि गरिने कुरा होइन । यदि कसैले सामाजिक संजालमा आफूले कसैलाई गरेको सहयोगको कुरा उल्लेख गरेको छैन भने, त्यसको अर्थ यो होइन कि, उसले कसैलाई सहयोग नै गरेको छैन । या ऊ मान्छे नै होइन ।
सामाजिक संजालमा देखिने अर्को पोस्ट हो, ‘यसरी खर्च गर्नु भन्दा त कसैको सहयोग गर्नु नि या फलानोलाई दिनु नि !’ । मानिस जब आफू नै खुशी रहेको हुँदैन, अरुलाई कसरि खुशी दिन सक्छ ? खानु र बाँच्नु मात्र जीवन होइन । मनोरंजन, आफ्नो व्यक्तित्वमा गरेको खर्चले व्यक्तिलाई बाँच्ने ऊर्जा मिलिरहेको हुन्छ । हरेक व्यक्तिमा आफ्नो व्यक्तिगत जीवनका समस्या हुन्छन्, तनाव हुन्छन् । मनोरंजनको लागि, सामाजिक सम्बन्धको लागि, आफ्नो व्यक्तित्व विकासको लागि गरिएको खर्च ऊ आफू तनावबाट निस्केर मानसिक रुपमा स्वस्थ जीवन बाँच्न सक्छ । जब ऊ मानसिक रुपमा स्वस्थ बन्छ, तब ऊ परिवार, समाज, देशको लागि जिमेवारी बहन गर्न सक्ने अवस्थामा पुग्छ । यसको अर्थ यो होइन, मनोरंजन या फजुल खर्चमा लाखौं, करोडौं खर्च गर्नुपर्छ । सिमितता भनेको हरेक कुरामा हुनुपर्छ र हरेक व्यक्तिले आफ्नो सिमितता बुझ्नुपर्छ ।अन्त्यमा, आफू एउटा मानिस भनेर जीवन बिताउँ र अरुलाई पनि भगवान नबनाऔं, मानिस भएर बाँच्न दिऔं ।