काठमाडौं । पोेखरा यतिबेला स्तब्ध बनेको छ । आफ्नो अभिभावक गुमाउनुको पीडा स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारीका परिवारलाई मात्रै होईन सिंगो देश शोकमग्न छ । श्रद्धाञ्जलीका लागि शव पोखरा प्रदर्शनी केन्द्र ल्याउँदा अधिकारीका परिवार भावविह्वल बने ।
पोखराबासीले आशलाग्दा युवा गुमाउँदा पीडाको सिमाना छैन । तैपनि मनलाई ढाडस दिने प्रयास गरिरहेका छन् । परिवारमा ठूलै संकट परेको छ । साना छोरा स्वराजले आमालाई सम्हाल्दै छन् ।
उनका आफ्ना आँखाका आँशु रित्तिएका छन् । आमा विद्या भट्टराई बेला–बेला मुर्छा पर्छिन् । उनलाई मिनरल वाटरको बिर्कोले पानी चुसाउनु परेको छ । अब रवीन्द्र केवल सबैका मनमा मात्रै रहनेछन् । रवीन्द्रको परिवारले अब अन्तिम बिदाइका हात हल्लाउनु बाहेक केही बचेन ।
पोखरा प्रदर्शनी केन्द्रमा श्रीमती विद्या भट्टराईलाई बेला–बेला नेकपाकी नेतृ रामकुमारी झाँक्रीले समेत सम्हालिन् । बुबा इन्द्र, आमा लक्ष्मी, र छोराहरु विराज र स्वराजलाई पनि पार्टी नेता र आफन्तजनले सान्तवना दिए ।
अधिकारीको शवमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय झण्डा ओढाएका छन् । त्यस्तै नेकपा नेताहरु बामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाए ।
श्रद्धाञ्जलीका लागि सयौं पोखरेली प्रदर्शनी केन्द्रमा भेला भएका छन् । काठमाडौंबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका नेता बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, योगेश भट्टराई, राजन भट्टराई, घनश्याम भुसाल, मन्त्री पद्मा अर्याल, कांग्रेस नेता चन्द्र भण्डारी पनि मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन पोखरा आएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ र प्रदेश सरकारका मन्त्रीहरु पनि श्रद्धाञ्जली दिन आएका छन् ।
स्व. मन्त्री अधिकारीको शवयात्रा शुरु भएको छ । श्रद्धाञ्जलीको कार्यक्रम सकिएपछि अधिकारीको शव पोखराको रामघाटमा अन्त्येष्टि गरिनेछ । उहाँको क्रिया ७ दिनसम्म मात्रै गरिने भएको छ ।
[video width="576" height="320" mp4="https://45.77.241.73/wp-content/uploads/2019/03/video-1551434618.mp4"][/video]
खेम बम/तस्बिरः माधव पनेरु