प्रमोद कुमार साह
धनुषा । प्रदेश २ मा सरकारले ल्याएको ‘बेटी पढाउ बेटी बचाउ’ योजना आइतबारदेखि प्रदेशका सबै पालिकाहरुमा लागू गरिएको छ । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले प्रदान गरेको विशेष अनुदानको ५० करोड र प्रदेश सरकारको ५ करोड ६० लाखले प्रदेश २ का सबै जिल्लाहरुमा ‘बेटी पढाउ बेटी बचाउ’ योजना लागु गरिएको बताउनुभयो ।
प्रदेश सरकारले केही योजनाहरुमा महिला सबलीकरण र सशक्तिकरणलाई समेत विशेष प्राथमिकतामा पारेको छ । महिला सशक्तिकरणका लागि प्रदेशमा नयाँ जन्मिने छोरीहरुको शिक्षा बीमाको नीति अन्तर्गत प्रभु बैंकसँगको साझेदारीमा छोरीहरुको शिक्षा बीमा नीति समेत ल्याइएको मुख्यमन्त्री लालबाबु राउतले बताउनुभयो । फागुन ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सुरुवात गरेको छोरी शिक्षा बीमा कार्यक्रमलाई अबदेखि प्रदेशका सबै पालिकाहरुमा लागु गरिएको मुख्यमन्त्री राउतले घोषणा गर्नुभयो । उहाँले प्रदेश भित्र रहेका कुनैपनि गाउँपालिकामा जन्मेकी छोरीलाई अब प्रदेश सरकारले विमा गर्ने समेत जानकारी गराउनुभयो । मुख्यमन्त्री राउतले साइकल वित्तरण कार्यक्रमको टेण्डर खुलिसकेको बताउँदै प्रदेशका करिव एक सय सामुदायिक विद्यालयहरुमा शौचालय निर्माण गर्ने प्रक्रिया पनि अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।
समग्र प्रदेशको विकास निर्माणको योजना बनाउन तथा सो योजना कार्यान्वयनको अनुगमन गर्न तत्काल प्रदेश नीति आयोग गर्ने तयारी समेत सरकारको रहेको मुख्यमन्त्री राउतले बताउनुभयो । प्रदेश शिक्षा सुधार कार्यक्रम र प्रदेश स्वास्थ्य अध्ययन समिति गठन गरिने योजनाहरु सरकारको कार्ययोजनामा रहेका छन् । यस प्रदेशलाई लगानी मैत्री प्रदेशको रुपमा निर्माण गर्न प्रदेशस्तरीय लगानी बोर्डको स्थापना, आठै जिल्लालाई विशेष आर्थिक क्षेत्र घोषणा, आर्थिक क्षेत्रलाई बन्द हड्ताल, अवरोध मुक्त क्षेत्र बनाउने नीति अवलम्बन गरिने समेत जनाइएको छ ।
कसरी गरिन्छ बीमा ?माघ १ गतेदेखि जन्मेको बच्चालाई पालिकाको सिफारिस र पारिवारीक नागरिकताको आधारमा प्रदेश सरकारले उक्त वच्चाको नाममा १३ हजार ६ सय ४६ रुपैया १५ पैसा प्रभु बैंकमा जम्मा गरिनेछ । त्यसैगरी प्रभु वैंकले समेत वच्चाको नाउमा १ हजारको वचत खाता जम्मा गर्ने छ र त्यहि पैसा २० वर्ष पछि व्याजको रुपमा १ लाख २५ हजार पाउने व्यवस्था गरिएको छ । छोरी शिक्षाको अभियानलाई सार्थकता वनाउनका लागि शुरु गरिएको बीमा कार्यक्रममा दुईवटा शर्त समेत लागु गरिएको छ । जसमा छोरीलाई २० वर्षपछि विवाह गर्नुपर्ने र छोरीलाई अनिर्वाय विद्यालय पठाउनपर्ने शर्त रहेको छ यदि छोरीको विवाह २० भन्दा पहिले गरियो भने जम्मा भएको विमाको रकम पुनः कार्यालयमै फर्किन शर्तमा लागू गरिएको छ ।
के हो निर्देशक समिति ?‘वेटी पढाउ वेटि वचाउ’ अभियानलाई तिव्र गतिमा हरेक घरमा पुरयाउका लागि आठवटै जिल्लाबाट एक जना महिलालाई सामेल गरेर निर्देशक समिति गठन गरिएको छ । समितिमा धनुषा जिल्लाकि ममता मण्डल, सप्तरीबाट दिल कुमारी चौधरी, सिरहाबाट त्रिपुरा झा,सर्लाहीबाट सुनैना देवी चौधरी कुशवाहा, महोत्तरीबाट निर्मला यादव, वाराबाट निभा सिंह, रौतहटबाट शोभा देवी साह कानु र पर्साबाट पुष्पा पाण्डेलाई समितिमा राखिएको छ ।