के सहिदको स्मृतिमा सहिद पार्क निर्माण गर्ने, अर्धकदका सालिक राख्ने, शालिकमा प्रत्येक वर्ष माल्यार्पण गर्ने र शहिद स्मृति दिवस मनाउने गरिरहँदा मात्र सहिदहरुको सपना पुरा गरेको मानिन्छ त ?
नरेश न्याैपाने / भूमिराज पराजुली / ईश्वर थापा
२०२९ मा भएको झापा विद्रोह र २०३६ मा भएको छिन्ताङ हत्याकाण्डमा शहिद भएकाहरुका परिवारले हालसम्म सरकारले शहिदको सपना बमोजिम काम गर्न नसकेको बताएका छन् । झापा विद्रोहको मैदानमा उत्रिएका विद्रोहीमध्येका एक जना वर्तमान प्रधानमन्त्री केपी ओली पनि हुनुहुन्थ्यो । ती विद्रोह र आन्दोलनहरुमा सहभागि मध्ये प्रधानमन्त्री ओली मात्र नभई दर्जनौं नेताहरु नेपाली राजनीति र सरकारकै निर्णायक तहमा छन् । तर उनीहरुसँगै विद्रोहमा होमिएका र प्रधानमन्त्री ओलीले भन्दा बढि जेल जीवन बिताएकाहरुको अवस्था भने अहिले निकै नाजुक छ ।
सुखानीको सम्झना
झापाको मेचीनगर नगरपालिका वडा नं १० धुलाबारीस्थित टिमाई खोलाको दक्षिण उत्तरको मुखैमा एउटा सानो झुप्रो घर छ । करिव ३ धुर जग्गामा पुराना जस्ता प्रयोग गरेर बनाइएको दुई कोठे घरमा बस्नुहुन्छ, झापा विद्रोहका क्रममा १८ वर्ष जेल जीवन बिताउनु भएका सानो दुर्गा अधिकारी । घरजम गर्ने बेलामा मुलुक परिवर्तन गर्न होमिनु भएका सानो दुर्गा अहिले भने अत्यन्तै नाजुक अवस्थामा जीवनयापन गरिरहेका छन् । सानो दुर्गा घरवार गर्ने समयमा क्रान्तिमा होमीदा जेलभित्रको दमन, कुटपिट र सजायका कारण घर फर्किदा सबै शरीर गरिखान नसक्ने भएको बताउनुहुन्छ । दुर्गा शारीरिक रुपमा कमजोर हुनुमा जेलमा रहँदा १८ वर्षसम्म पाएको पुलिसको दमन र कठोर सजायकै कारण हो । तर, अहिले उनीसँग औषधी किन्ने पैसा समेत छैन । आफुहरुको विद्रोहलाई सम्झिदै दुर्गाले आजको कम्युनिष्ट सरकारले आन्दोलनको मर्म बिर्सेको बताए ।
एक समय देशको राज्य सत्ता नै परिर्वतन गर्न हतियार बोकेर बिद्रोहमा होमिएका योद्धा अहिले सामान्य जिवनयापन गर्न मात्र पनि समस्या भोगीरहेका छन् । यस आन्दोलनको उपलब्धिलाई विद्रोहका बेला योगदान गर्ने पात्रहरुको दुःखले पोलिरहेको छ । तत्कालीन झापा विद्रोहका कतिपय विद्रोहीलाई आफ्ना नेता र आफ्नै पार्टीले नेतृत्व गरेको सरकारको काम देखेर वितृष्णा समेत लाग्न थालेको छ ।
झापा विद्रोहकै क्रममा जेल जीवन बिताएका कयौं विद्रोहीहरु अहिले नेताहरुको काम गराइप्रति पूर्ण सन्तुष्ट छैनन् । तत्कालीन झापा विद्रोहका अर्का विद्रोही नारायण उप्रेती, सरकार कता कता अलमलिएको र नेताहरु पुरानै हुकुमी शैलीको उठबसमा हराएको बताउनुहुन्छ । आन्दोलनका जिवित योद्धाहरु वर्तमान सरकारले आन्दोलनको मर्म बिर्सेको भन्दै कटाक्ष गर्न थालेका छन् ।
छिन्ताङको समिक्षा२०३६ सालमा भएको छिन्ताङ हत्याकाण्डमा तत्कालिन निरंकुश पञ्चायती सरकारले १६ जना कम्युनिष्ट कार्ययकर्ताकााे निर्मम हत्या गरेको थियो । फरक विचार राखेको भन्दै धनकुटाको खाल्सा क्षेत्रका खोकु, छिन्ताङ र आँखिसल्लाका ती सर्वसाधारणलाई २०३६ कात्तिक २३ देखि २९ गतेसम्म गरेर एक हप्ता लगाएर पञ्चायती सरकारले हत्या गरेको थियो । प्रहरीको ज्यादतीले सर्वसाधारण आतंकित बनेको घटना पीडित परिवारले अझै स्मरण गरिरहेका छन ।
तर, हालसम्म नेपालमा ठूला ठूला परिवर्तन भइसक्दा पनि राज्यले छिन्ताङ काण्डका सहिदका परिवारलाई उपेक्षा गरेको सहिद परिवारको भनाइ छ । घटनामा ज्यान आहुति गर्ने व्यक्तिलाई वर्षौदेखि राज्यले उपेक्षा गरेकाे शहिद परिवारले बताउँदै आएका छन् । सहिद परिवारले प्रजातन्त्र प्राप्तिका लागि आफ्ना अभिभावकहरुले ज्यान गुमाए पनि अहिलेसम्म राज्यबाट कुनै राहत महसुस गर्न नपाएको दुखेसो पोख्ने गरेका छन् ।
छिन्ताङ हत्या काण्डमा मारिएका व्यक्तिलाई अघिल्लो सरकारले राष्ट्रिय सहिद घोषणा गरेको एक वर्ष हुन लागेपनि पीडित परिवारलाई हालसम्म कुनै सुविधा उपलब्ध नगराएको पीडित परिवार बताएका छन। पीडित परिवारलाई शहिद घोषणा गरेको बारे हालसम्म औपचारिक जानकारी समेत नगराएको उनिहरूकाे गुनासो छ ।
विशेषगरी २०४६ र २०६२, ०६३ का राजनीतिक परिवर्तनपछिका प्रधानमन्त्री र दलका नेता समक्ष ज्ञापन पत्र पेस गर्ने सहिद परिवारकाे दिनचर्या बन्दै आएको छ । उनिहरुले राष्ट्रिय शहिदको घोषणा, राहतको व्यवस्था, पीडित परिवारलाई रोजगार, प्राविधिक तथा व्यावसायिक रोजगारी, परिचयपत्र लगायत माग अघि सार्दै आएका छन । आफूहरुले पटकपटक सबै राजनितीक दलका प्रमुख र सरकार प्रमुखहरुलाई भेटेपनि आश्वासन दिने काम मात्र भएको छिन्ताङ घटनाका सहिद धनविर दमाईका छोरा सोम बहादुर दमाई बताउँछन् ।
नेताहरुले पुरानै शैलीमा खाल्साली जनता महान छन, निरंकुुशतासँग डराएनन, बरु गोली थाप्न तयार भए र महान छिन्ताङे मात्र भन्ने गरेका छन् ।
सहिद गोपाल आनन्द राईको छोरा डिकबहादुर राई भन्छन्, छिन्ताङ हत्याकाण्डका सहिदहरुलाई राजनितिक दलका नेताहरुले पुरानै शैलीमा खाल्साली जनता महान छन, निरंकुुशतासँग डराएनन, बरु गोली थाप्न तयार भए र महान छिन्ताङे मात्र भन्ने गरेका छन् । त्यस्तै, वार्षिक रुपमा मनाइने सहिद स्मृति दिवस र कहिलेकाहीँ राजनितीक दल विशेषले ओढाउने दोसल्लाले मात्र आफूहरुको मन शान्त नबनेको सहिद परिवारका सदस्यहरुको भनाई छ ।
सरकारी वेवास्तासरकारले केही वर्ष अगाडि मुलुकका सबै क्षेत्रका सहिद परिवारलाई एक लाख रुपैयाको दरले राहत उपलब्ध गराएको भएपनि शहिद परिवारको अवस्था उस्तै छ । उनीहरुको दैनिकी मात्रै फेरिएको छ तर राजनीतिक व्यवस्था र नेतृत्व पुरानै रवैया प्रदर्शन गर्न थालेको उनिहरुको गुनासो छ । देशमा गणतन्त्र र धर्मनिरपेक्षताको विगुल फुकिएको भएपनि वास्तवमा शहिदहरुले देखेका समानता र जनजिविकाका मुद्धाहरु अझै पनि व्यवहारमा कार्यान्वयन हुन नसकिरहेको सहिद परिवारले बताउने गरेका छन् ।
के सहिदको स्मृतिमा सहिद पार्क निर्माण गर्ने, अर्धकदका सालिक राख्ने, शालिकमा प्रत्येक वर्ष माल्यार्पण गर्ने र सहिद स्मृति दिवस मनाउने गरिरहँदा मात्र शहिदहरुको सपना पुरा गरेको मानिन्छ त ? उनिहरुकै लडाइँ र त्यागको उपज आजको वामपन्थी सरकारले सहिदहरुले चाहेको समानता र विभेद रहित समाजको स्थापना गर्नतिर लाग्दा उत्तम होला कि ?